हात्तीपाइले रोग विरुद्धको औषधि सेवन अभियान सुरु



विष्णु तिमिल्सिना, बर्दिया ।

राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम अन्तरगत आम औषधी सेवन अभियान २०७६ बर्दिया लगायत नेपालका १३ जिल्लामा सप्ताह व्यापीरुपले सुरु भएको छ ।

बर्दिया जिल्लाको गुलरिया नगरपालिकामा उक्त कार्यक्रमको शुभारम्भ वडा नं. ६ मदरसा विद्यालयमा आयोजित औषधी सेवन कार्यक्रममा नगरप्रमुख मुक्तिनाथ यादवले औषधी सेवन गरी गर्नु भयो । सोही अवसरमा जिल्लाका कार्यालय प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, जनप्रतिनिधि, संचारकर्मीहरुले पनि औषधी सेवन गर्नु भएको थियो ।

त्यसैगरी, गुलरिया न.पा वडा नं. ७ चौगुर्जी स्थित हिमाली आधारभुत विद्यालयमा रहेको बुथमा सोही वडाको वडा अध्यक्ष गिता बस्नेतले औषधी सेवन गरी अभियानको शुभारम्भ गर्नु भएको थियो । सोही ठाउँमा स्वास्थ्य शाखा प्रमुख सुनिल पाण्डे, गैरसरकारी संस्था महासंघका विष्णु तिमिल्सिना, संचारकर्मीहरु दिपक शर्मा र मुरली गोडिया लगायतका व्यक्तिहरुले औषधी सेवन गर्नु भएको थियो ।

विगत वर्षहरुमा औषधी सेवनको दर कम भएका गुलरिया नगरपालिका अन्तरगतका औषधी सेवन गर्ने बुथहरुमा समुदायमा उत्प्रेरणा जगाउनका लागि कार्यालय प्रमुख, जनप्रतिनिधि, बुद्धिजीविहरु सो ठाउँमा गई औषधी सेवन गर्ने उद्धेश्य अनुरुप विभिन्न ठाउँमा गएर औषधी सेवन गरेको कुरा गुलरिया नगरपालिका स्वास्थ्य शाखा प्रमुख सुनिल पाण्डेले बताउनु भयो ।

स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीको नेतृत्वमा जिल्ला अस्पताल बर्दिया व्यवस्थापन समितिका अध्यक्ष अंगत श्रेष्ठ लगायतको टोलीले जिल्लाका विभिन्न स्थानमा औषधी सेवनको अवस्थाको विषयमा अनुगमन गर्नु भएको थियो । उक्त अनुगमनको क्रममा प्रमुख गिरीले पहिलो दिन बढीमा ५० प्रतिशत र कम्तीमा १० प्रतिशत व्यक्तिहरुले औषधी सेवन गरेको जानकारी गराउदै समुदायमा एक वा दुई जनाले मात्र औषधि सेवन गरेर हात्तीपाईले रोग निवारण नहुने भएकाले हामी सवै बर्दिया लगायतका जनताहरुले औषधि सेवन गरी उक्त रोग निवारण अभियानलाई सफल पार्नुपर्ने बताउनु भयो ।

यो रोग तीन प्रजातीका मसिनो धागो जस्तै परजीविका कारणले हुने र संक्रमित लामखुट्टको टोकाईबाट मानिसमा सर्ने भएकाले उक्त रोग विरुद्ध हामी सवैले पहिला औषधि सेवन गरेका वा नगरेका व्यक्तिहरुले औषधी सेवन गर्न आवश्यक भएको छ । हात्तीपाइले रोग विरुद्धको औषधि विगत ८ बर्षदेखि ६३ वटा जिल्लामा अभियानको रुपमा संचालन भई ५० वटा जिल्लामा निवारण भईसकेको र बाँकी १३ जिल्लामा गलत बुझाईका कारण सेवन गर्न हिच्किचाई औषधि सेवन नगर्नाले यो अभियानलाई निरण्तरता दिईरहनु परेको हुँदा औषधि सेवन गर्ने दर १ प्रतिशत भन्दा कम नहुन्जेल सम्म यो अभियान जारी रहने कुरा प्रमुख गिरीले बताउनु भयो ।

स्वास्थ्य कार्यालय बर्दिया का सुचना अधिकारी तथा जनस्वास्थ्य निरिक्षक कृष्णगोपाल चौधरीले बजार क्षेत्र भन्दा ग्रामीण इलाकामा हात्तीपाइले रोग विरुद्धको औषधि सेवनको दर उच्च देखिएको बताउनु भयो । जिल्लामा औषधि खुलाउने अभियानमा जम्मा ४ सय जना स्वास्थ्यकर्मी र ८ सय ४१ जना महिला स्वास्थ्य स्वयम् सेविका परिचालन गरिने कुरा उहाँले जानकारी गराउनु भयो ।

संक्रमित लामखुट्टेको टोकाईबाट हुने हात्तीपाईले रोगका तत्काल देखिने लक्षणहरुमा जाडो लागि ज्वरो आउनु÷शरीरमा कम्पन छुट्नु, लिम्फ नलीहरु सुन्निनु÷रातो भई दुख्नु, हातगोडामा नीलाकाला धर्साहरु देखिनु, गिर्खाहरु बढ्नु/दुख्नु, पुरुषको अण्डकोष वरपरका नसाहरु फुल्नु/दुख्नु र दीर्घकालिन रुपमा देखिने लक्षणहरुमा पुरुषको अण्डकोष ठूलो हुनु/दुख्नु, गिर्खाहरु भेटिनु, अण्डकोष वरिपरि पानी भरिएर हाइड्रोसिल हुनु, महिलामा स्तन वा यौनाङ्ग सुन्निनु/दुख्नु, खुट्टा सुन्निएर हात्तीपाईले हुनु, पिसाब सेतो वा रातो आउनु, लामो समयसम्म सुख्खा खोकी लागिरहनु, दम बढ्नु, रगतमा इयोसिनोफिलको मात्रा बढ्नु हो ।

यो रोग विश्वका ७० भन्दा बढी मुलुकहरुमा पाईएको छ । यी देशहरुमा बसोबास गर्ने १ अरब ४० करोड भन्दा बढी मानिसहरु यस रोगको संक्रमणको जोखिममा रहेका छन् । हाल १२ करोड मानिसहरु संक्रमित भईसकेको अनुमान गरिएको छ । यी मध्ये १.५ करोड मानिसहरु हात्तीपाईले र २.५ करोड मानिसहरु अण्डकोष तथा यौनाङग सुनिएको पाईएको छ ।

बाँकी २ तिहाई ८ करोड मानिसहरुमा सामान्य लक्षण देखापरेको छ । यस कार्यक्रमबाट रोग फैलनुबाट रोक्नु र बिरामीको संख्यामा कमील्याउनु तथा रोगका बिरामीहरुलाई दीर्घ रोग, असक्त र कुरुपता हुन बाट बचाउने उद्देश्य राखिएको छ । यस अभियान अन्तरगत डि.इ.सी (डाइईथाईलकार्वामाजिन) चक्की र अल्वेण्डाजोल चक्की खुवाईनेछ । यो औषधी दुई वर्ष मुनिका बच्चाहरु, गर्भवती महिलाहरु, सिकिस्त बिरामीहरु र छारे रोग लागेका बिरामीहरु बाहेक सवै व्यक्तिहरुले सेवन गर्न जरुरी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्