उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई पुरस्कृत गरिने



महेश न्यौपाने, रोल्पा।

रोल्पाको सुनिल स्मृति गाउँपालिकाले उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीहरूलाई पुरस्कृत गर्ने घोेषणा गरेको छ। गाउँपालिकाभित्रका ८ वटा माध्यमिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं अंग्रेजी, गणित र विज्ञान विषय शिक्षकको सहभागितामा आयोजित शैक्षिक बहस कार्यक्रममा गाउँपालिकाले सो घोषणा गरेको हो।

गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीका अनुसार गाउँपालिका स्तरीय कक्षा ८ को परीक्षामा प्रथम हुने विद्यालयलाई नगद ५० हजार राशिले पुरस्कृत गरिने भएको छ। यसैगरी, एसइईमा प्रथम हुने विद्यालयलाई २ लाख राशिले पुरस्कृत गरिने भएको छ।

गणित, अंग्रेजी र विज्ञान विषयमा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने शिक्षकलाई समेत पुरस्कृत गरिने भएको छ। उत्कृष्ट उपलब्धि हासिल गर्दै प्रथम, द्वितीय र तृतीय हुने शिक्षकहरूलाई क्रमश ३०, २० र १० हजार रुपियाँ पुरस्कारका साथै दोसल्ला ओडाएर सम्मान गरिने भएको छ।

त्यसैगरी, एसइईमा प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्नेे विद्यार्थीहरूलाई क्रमश १५, १० र ५ हजार नगद पुरस्कार दिइने भएको छ।शैक्षिक क्षेत्रको विकासका लागि गाउँपालिकाले गर्नुपर्ने लगानीमा कन्जुस्याइँ नहुने गाउँपालिकाका अध्यक्ष घर्तीले प्रतिक्रिया दिनुभयो।

शिक्षक, अभिभावक र स्थानीय सरकारको गतिशिलताले मात्रै शैक्षिक सुधार सम्भवरहेको अध्यक्ष घर्तीको भनाइ छ। शिक्षा क्षेत्रको अनुगमनलाई प्रभावकारी बनाउन वडा शिक्षा समितिलाई समेत सक्रिय बनाउने बताउनुभयो।

गाउँपालिकाले शैक्षिक सुधारमा देखाएको तत्परता सराहनीय रहेको जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक युवराज सुवेदीले प्रतिक्रिया दिए। गाउँपालिकाको यो घोषणाले विद्यालयहरूले शैक्षिक क्षेत्रमा कोल्टे फेर्न सक्ने सुवेदीले आशा व्यक्त गनुभयो।

सिकाइ अभिवृद्धिका लागि गाउँपालिकाभित्रका विद्यालयबीच स्वस्थ प्रतिस्पर्धाका साथै अनुभव आदान प्रदानको वातावरण बन्नुपर्ने सुवेदीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्