लागूऔषध कारोबारीलाई समाजबाट बहिष्कार गर्नुपर्छ : महानिरीक्षक खनाल



यमलाल भुसाल, बुटवल।

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द खनालले लागू औषध कारोबारीलाई समाजबाट बहिष्कार गर्नुपर्ने बताउनुभएको छ।लागूऔषध मुलुकका लागि बिकराल समस्या बन्दै गएकाले यसको नियन्त्रणका लागि सबैभन्दा पहिला कारोबारीवालालाई कारबाही नगरेसम्म नियन्त्रण सम्भव नभएकाले समाजबाट नै बहिष्कार गर्नुपरेको उहाँले बताउनुभयो।

प्रहरी महानिरीक्षक खनालले मुलुकमा हुने अपराधमध्ये ७० प्रतिशतभन्दा बढी अपराध लागूऔषध प्रयोग कर्ताका कारण हुने गरेको डरलाग्दो तथ्याङ्क सार्वजनिक गर्नुभयो। अपराध रोक्नका लागि पनि लागूऔषध नियन्त्रण प्रहरीका लागि चुनौतिपूर्ण भएको उहाँले बताउनुभयो।

नेपाल प्रहरी र बुटवल उपमहानगरपालिकाको सहकार्यमा लागूऔषध प्रयोगकर्तालगायतका लागि छैटौं निःशुल्क परामर्श केन्दको बिहीबार बुटवलमा उद्घाटन गर्दै प्रहरी महानिरीक्षक खनालले विकराल बन्दै गएको लागूऔषध दुव्र्यसनीलाई साझा समस्याको रूपमा लिई सामूहिक रूपमा समाधानमा जुट्नुपर्नेमा जोड दिनुभयो।

आपराधिक मानसिकताले खोलिएका सुधार केन्द्रहरूले पनि जुन काम गर्नुपर्ने हो त्यो नगरी उल्टै प्रयोग कर्तालाई बढावा दिने गरी काम गरेकाले त्यस्तालाई पनि प्रहरीले अनुसन्धानका दायरामा राखेको खुलासा गर्नुभयो। उहाँले सुधार केन्द खोेल्नेभन्दा पनि परामर्श केन्द्रबाटै समाधान खोज्नुपर्नेमा जोड दिनुभयो।

सामाजिक सेवाभावले सञ्चालित एम्बुलेन्सले पनि लागूऔषधको कारोबार गर्ने गरेको भन्दै उहाँले आपराधिक मनोवृत्तिकाले गर्ने काम शंकास्पद रहेको धारणा राख्नुभयो।परामर्श केन्द सञ्चालनका लागि बुटवल उपमहानगरपालिकाले आर्थिक र नेपाल प्रहरीले व्यवस्थापनको काम गर्ने गरी नगरपालिकाका कार्यकारी प्रमुख चक्रपाणि शर्मा र नेपाल प्रहरीका रूपन्देहीका प्रहरी उपरीक्षक हेमबहादुर थापाले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो।

बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा लागूऔषध नियन्त्रण ब्युरोका एसएसपी वसन्तकुमार लामा प्रदेश सभासद् सन्तोष पाण्डे, रूपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ, अमर प्रहरी परिवारकी रिता सेन, पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे प्रहरी जवान गीता कँुवरलगायतले नेपालमा २ लाख बढी लागूऔषध प्रयोगकर्ता रहेको बताउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्