पाटनमा एक घर एक धारा निर्माण अभियान



विनोद सिंह विष्ट, बैतडी।

हरेक नागरिकको शुद्ध खानेपानीमा पहुँच पर्याउने उद्देश्यले बैतडीको पाटन नगरपालिकामा एक घर एक धारा निर्माण गर्ने अभियान शुरु भएको छ। नगरपालिकाको वडा नं १० मा एक घर एक धारा निर्माण गर्ने अभियान शुरु भएको हो।

गाउँमा रहेका पुराना खानेपानी योजनाहरूलाई मर्मत गर्ने र नपुगेका ठाउँमा नयाँ योजना निर्माण गरेर खानेपानी आपूर्ती गरिने वडा नं १० का वडा अध्यक्ष देवेन्द्र कुँवरले जानकारी दिनुभयो।गाउँमा भएका खानेपानी योजनाहरूको मर्मत सम्भारका लागि स्थानीय उपभोक्तालाई समेत सचेत गराउन थालिएको भुमेश्वर सामुदायिक विकास संघका कार्यक्रम संयोजक धर्म भट्टले जानकारी दिनुभयो।

वडा नं १० का तीनवटा पुराना खानेपानी योजनाहरूलाई मर्मत गरेर योजना क्षेत्रभित्रका हरेक नागरिकका घरमा धारा निर्माण गरिनेछ उहाँले भन्नुभयो– ‘तिम्लाधार खानेपानी योजना सल्लेबासा, राजकोट खानेपाने योजना र मटे खानेपानी योजनालाई मर्मत सम्भार गरिनेछ।’ यसका लागि युनिसेफ नेपालको समेत सहयोग रहेको जनाइएको छ।

ती योजनाहरूका उपभोक्ता समितिका पदाधिकारीहरूलाई पूर्ण सरसफाइ र स्वच्छता सम्बन्धि दुई दिने तालिमसमेत दिइएको छ। भुमेश्वर सामुदायिक विकास संघ खोड्पे युनिसेफ नेपालको सहयोगमा पाटन नगरपालिकासंग मिलेर एक घर एक धारा निर्माणका लागि पहल गरिरहेको भुमेश्वर सामुदायिक विकास संघका कार्यकारी निर्देशक मोहन ऐरले बताउनुभयो। एक घर एक धारा निर्माणपछि सबै नागरिकको शुद्ध खानेपानीमा पहुँच पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्