स्थानीय तहमा बिजुली नपुग्दा कामकाजमा समस्या



विमल विष्ट, डोटी।

डोटी जिल्लाका कुल नौवटा स्तानीय तहमध्ये तीनवटा स्थानीय तहका विभिन्न वडाहरूमा बिजुली नपुगेका कारण समस्या हुने गरेको छ।जिल्लाको बोगटान फुड्सिल, बडीकेदार तथा जोरायल गाउँपालिकाका अधिकांश वडाहरूमा अहिलेसम्म पनि बिजुली बिस्तार हुन नसक्दा कामकाजमा समस्या हुने गरेको कर्मचारीहरू बताउँछन्।

जोरायाल गाउँपालिका–५ गड्सेरामा स्थानीय जलविद्युत् भए पनि सबै गाउँमा विद्युत् नपुगेको तथा दिउँसो ११ बजेबाट साँझ ५ बजेसम्म विद्युत् लाइन कटौती गरिने भएका कारण कार्यालयको कामकाज तथा अन्य काम गर्नमा निकै समस्या उत्पन्न हुने गरेको वडाअध्यक्ष ध्वजबहादुर देउवाले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘स्थानीय गड्सेरीगाढ खोलाबाट विद्युत् त निकालेका छौँ, तर उक्त विद्युत् दिउँसो कार्यालय समयमा काटिने भएका कारण समस्या हुने गरेको छ,राति बत्ति आएपछि मात्रै कार्यालयको काम गर्नु पर्ने हुन्छ।’
विद्युत् पावर धान्न नसक्ने भएका कारण दिउँसोको समयमा विद्युत् लाईन कटौती गरी राती केही गाउँमा विद्युत् बितरण गरिँदै आएको गड्सेरीगाढ लघुजलविद्युत् आयोजनाका अध्यक्ष लिलाधर विष्टले बताउनुभयो।

उहाँले भन्नुभयो–विद्युत्को उत्पादन क्षमता कमी छ, सबै गाउँमा विद्युत बितरण गर्न सकिएको छैन,त्यसैले दिउँसो बत्ति काट्ने गरेका हौँ राष्ट्रिय प्रशारण लाइन बिस्तार भएको छैन्।’ त्यस्तै जिल्लाको बडीकेदार गाउँपालिकामा भने अहिलेसम्म विद्युत् बिस्तार भएको छैन।

विद्युत् नहुँदा स्थानीयवासीहरू राति सल्लाको झुरो तथा केहीले सोलार बत्ति प्रयोग गर्नथालेको बडीकेदार १ कोला गाउँका स्थानीय टेकबहादुर कललेलले बताउनुभयो। उता बोटगटान फुड्सिल गाउँपालिकाको टुडागाढमा स्थानीय टुडागाढ बिद्युत पावरहाउस भएपनि सबै वडामा बिद्युत बिस्तार गर्न नसकिएको सो गाउँपालिकाका अध्यक्ष कमल गड्सिलाले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘टुडागाढ खोलाको विद्युत् सबै वडामा पुर्याउन सकिएको छैन, विद्युत् नहुँदा सारै समस्या हुने गरेको छ। त्यस्तै राष्ट्रिय विद्युत् प्रशारण लाइनको पहुँच नहुँदा बडीकेदार गाउँपालिकाले सोलारको भरमा गाउँपालिकाको काम गरिरहेको सो गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘हामीसँग राष्ट्रिय विद्युत् प्रशारण लाइन पनि छैन, स्थानीय बिद्युत् पनि उत्पादन गरिए पनि बितरण भएको छैन, सोलारकै भरमा सबै काम चलाउनुपर्ने बाध्यता छ।’जिल्लाका यी गाउँपालिकाका विभिन्न वडाहरूमा जडान गरिएका नेपाल टेलिकमका टावरसमेत सोलारकै भरमा चलिरहेका छन्। सोलार बत्तिकै भरमा टेलिकम टावर सञ्चालन हुँदा रातिको समयमा उक्त टावरले खासैकाम नगर्ने गरेको स्थानीयको गुनासो छ।

त्यहाँका गाउँपालिकामा जडान गरिएका नेपाल टेलीकमका जिएसएम टावरहरू घाम नलागेको अर्थात पानी र कुहिरो लागेको दिन पूर्ण रुपमा बन्द हुने गरेको जोरायल गाउँपालिका ६ निरौलीका स्थानीय लालबहादुर बिकले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्