उत्तरी मुस्ताङमा दुई सातादेखि आवतजावत बन्द



दुर्गाप्रसाद शर्मा, पर्वत।

बाक्लो हिमपातका कारण उत्तरी मुस्ताङमा दुई साता देखि आवतजावत पुरै ठप्प भएको छ। उत्तरी मुस्ताङ र तिब्बत जोड्ने कालीगण्डकी करीडोरमा बाक्लो हिमपातका कारण सडक यातयात पुरै ठप्प भएको हो।कोरल्ला नाका समेत पुर्णरुपमा बन्द भएका कारण छिमेकी देश चीनमा फैलिएको कोरोना भाईरसको प्रभाव समेत परेको छैन।

उत्तरी मुस्ताङलाई जोड्ने कालीगण्डकी करिडोरमा बाक्लो हिउँ जमेको छ। लो घेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङ सम्मको हिउँ सफा गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले बताउनुभयो। लोमान्थाङ गाउँपालिकामा भने हिउँ पन्छाउने काम हुन सकेको छैन।

कालीगण्डकी नदीमा समेत बाक्लो हिउँ जमेपछि खोलैखोला सञ्चालन हुने यातयात समेत बन्द रहेको छ। ‘कालीगण्डकी करिडोरमा जमेको हिउँ हटाउने संभावना तत्काललाई छैन’ प्रजिअ अर्यालले भन्नुभयो ‘कालीगण्डकी नदीमा खोलैखोला हिउँ सफा गरेर सडक यातयात सुचारु गर्ने प्रयास भैरहेको छ’
लोघेकर दामोदरकुण्ड गाउँपालिकाले चराङ सम्मको हिउँ सफा गरिसकेको र चराङ देखि माथिल्लो क्षेत्रको हिउँ लोमान्थाङ गाउँपालिकाले सफा गर्ने सहमति भएको छ। गाउँपालिकाले एक दुई दिन भित्र हिउँ सफा गरेर सडक सञ्चालन गर्ने तयारीमा रहेको प्रजिअ अर्यालले बताउनुभयो।

जाडो शुरु भएपछि मुस्ताङीहरू बेसी झर्ने गर्दछन। सिंगो लोमान्थाङ गाउँपालिका भर एक सय भन्दा बढी मानिस जाडो याममा बसेका छैनन। भेडा, च्याङग्रा र घर कुर्नका लागि केही मानिस बसेपछि सबै बेसीमा झरेका छन। कोरल्ला नाका समेत बन्द भएका कारण कोरोना भाईरसको समेत प्रभाव परेको छैन। ‘मानिसहरू प्रायः घर बाहिर ननस्किने र सिमामा दोहोरो आवतजावत समेत नरहेका कारण कोरोनाको प्रभाव छैन।’ प्रजिअ अर्यालले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्