दलित समुदायका पुजारी मन्दिरमा गैरदलित सहभागी



विनोद सिंह विष्ट, बैतडी।

बैतडीको पाटन नगरपालिका ३ स्थित प्रसिद्ध वनारसी धाममा मंगलवार जात्रा सम्पन्न भएको छ। हरेक बर्ष माघ शुक्ल दशमीका दिन सो मन्दिरमा जात्रा लाग्ने गर्दछ। वनारसी धाममा लाग्ने जात्रालाई सामाजिक सद्भावको जात्राका रुपमा समेत लिने गरिन्छ। दलित समुदायका पुजारी रहेको सो मन्दिरमा हरेक समुदायका नागरिकले सहभागिता जनाउने गर्दछन्।

वनारसी धामको जात्रा जातीय विभेद अन्त्यका लागि सन्देश दिने जात्रा भएको दलित अधिकारकर्मी रमेश कोलीले बताउनुभयो। यो मन्दिरमा सबै समुदायका दर्शनार्थीहरू जाने र दलित समुदायका पुजारीबाट प्रसाद ग्रहण गर्ने प्रचलन रही आएको छ।

वनारसी धामको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ। परापूर्वकालमा खोपरे नामको राक्षसलाई वनारसी देवताले मारेको किम्वदन्ती समेत रही आएको छ।यस कारण पनि वनारसीलाई शक्तिशाली देवताको रुपमा लिने गरिएको छ। जात्रामा हजारौं दर्शनार्थीहरूले वनारसी धामको दर्शन गरेका पत्रकार वसन्त बिष्टले जानकारी दिनुभयो।

यसैबीच वनारसी धामलाई विश्वनाथ धामको रुपमा विकास गर्ने काम समेत शुरु भएको छ।वनारसी धाम विश्वनाथ ज्योतिर्लिङको रुपमा रहेको जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले बताउनुभयो। मानसखण्ड पूराणमा सरयु नदीको किनारमा विश्वनाथ ज्योतिर्लिङ अवस्थित रहेको कुरा उल्लेख भएको र पौराणि सरयु अर्थात सुर्नया नदीको किनारमा रहेको वनारसी धाम विश्वनाथ ज्योतिर्लिङ भएको उहाँले बताउनुभयो। विश्वनाथ धामको विकासका लागि मन्दिर निर्माणको काम जारी रहेको विश्वनाथ मन्दिर निर्माण समितिका अध्यक्ष धनीदत्त भट्टले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्