बैतडीमा ८ जना कुष्ठरोगका बिरामी



बैतडी, (नेस)।

बैतडीमा ८ जना कुष्ठरोगका बिरामी उपचारमा रहेका स्वास्थ्य कार्यालयले जनाएको छ। पुर्चौंडी नगरपालिकाका ६ जना र डिलाशैनी गाउँपालिका २ जना उपचाररत रहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो। कुष्ठरोगका बारेमा अझै पनि भ्रम रहेकाले कुष्ठरोगीहरू खुलेर बाहिर आउन नसकेको उहाँले बताउनुभयो।

कुष्ठरोग देवीदेवताको श्रापले लाग्ने रोग हो भन्ने गलत मानसिकताले कुष्ठरोगी समाजमा खुल्न नसकेको स्वास्थ्य कार्यालयले जनाएको छ। कुष्ठरोग कीटाणुका कारणले लाग्ने भएकाले यो रोग औषधि सेवन गरेका निको हुने प्रमुख भट्टले बताउनुभयो।

कुष्ठरोगको औषधि सबै स्वास्थ्य संस्थाहरूमा निःशुल्क प्रदान गर्ने गरिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। यसैबीच समाजमा लुकेर रहेका कुष्ठरोगका बिरामीहरूको खोजीका लागि स्वास्थ्य कार्यालयले शिविरको आयोजना गर्ने तयारी गरेको छ। छालारोग विशेषज्ञ बोलाएर छाला रोगसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गर्ने भट्टले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्