युवाहरू सामाजिक कार्यमा जुट्दै



अमृत अर्याल, स्याङ्जा।

पुतलीबजार नगरपालिका ११ का युवाहरू सामाजिक कामका लागि एकजुट हुन थालेका छन्। जिल्लाकै नमुना वडा बनाउन यहाँका युवाहरू एकजुट हुन थालेका हुन्। करेन्डाँडा जैसीडाँडा सामाजिक सेवा समाज नामक संस्था स्थापना गरेर युवाहरू वडालाई सामाजिक, आर्थिक र भौतिक रूपले सम्पन्न बनाउन लागेका छन्।

संस्थामार्फत युवाहरूलाई गोलबद्ध गर्दै आफ्नो वडालाई नमुनासँगै जिल्लालाई नै नमुना बनाउने अभियानमा लागेको संस्थाका अध्यक्ष ईश्वरबन्धु अर्यालले बताउनुभयो। पहिला आफू अनि समाजलाई बनाउनुपर्छ भन्ने हाम्रो अभियान हो अध्यक्ष अर्यालले भन्नुभयो– ‘युवालाई बिग्रन दिनुभन्दा युवाले समाज बनाउनुपर्छ भन्ने उद्देश्य हाम्रो हो।’

बेरोजगारका कारण युवाहरूको बिग्रँदो अवस्था देखेर संस्थामार्फत युवालाई गोलबद्ध गरेर सामाजिक कार्यमा लगाउन थालेको अर्यालले बताउनुभयो। सानातिना विकासका लागि पनि सरकारी निकाय धाउनुपर्ने झन्झटलाई ध्यानमा राखेर कोष खडा गर्ने अभियानमा जुटेको उहाँले बताउनुभयो। पहिलो प्रथामिकताका लागि वडामा एउटा एम्बुलेन्स सञ्चालन गर्ने अभियानमा जुटेको अर्यालले बताउनुभयो।

जिल्लाभरि कार्यक्षेत्र रहेको समाजिक संस्थाले लागूऔषध, जुवातासको न्यूनीकरण अभियानसँगै टोल सरसफाइ, विभिन्न समाजिक सुधारका तालिमहरू प्रदान गर्ने उद्देश्य राखेको छ। १३ जना कार्य समिति रहेको संस्थाको उपाध्यक्षमा विशालबाबु पराजुली, सचिव भुपेन्द्रराज क्षेत्री, सह–सचिव रामकृष्ण सापकोटा, कोषाध्यक्ष अजय अर्याल रहेका छन्।

सदस्यहरूमा अर्जुन अर्याल, सिर्जना थापा, सूर्य केसी, उपेन्द्र अर्याल, दिनेश अर्याल, किशोर अर्याल र शंकरकान्त अर्याल रहेका छन्। सुधन अर्याल, अर्जुनबन्धु अर्याल र अमरबहादुर पराजुलीलाई संस्थाको संरक्षकमा मनोनयन गरेको संस्थाले जनाएको छ। आर्थिक पारदर्शिताका लागि संस्थाले ३ सदस्य लेखा समितिसमेत मनोनयन गरेको छ। शिव अर्यालको संयोजकत्वमा लेखा समिति गठन गरेको संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्