ढोरपाटनको व्यथा : सुत्केरीले ६ महिना पानी पिउन पाउँदैनन्



सिर्जना पन्त, बागलुङ।

सुत्केरी भएको ८ महिना भयो, यो अवधिमा पानीभन्दा धेरै रक्सी पिएँ।’ बागलुङको ढोरपाटन नगरपालिका–७ बोबाङकी सपना कायत आफ्नो कहाली लाग्दो सुत्केरी अनुभव सुनाउँदै हुनुहुन्थ्यो।दुई वर्ष पहिले ढोरपाटन नगरपालिका–६ ओख्रेनीका विजय कायतसँग बिहे गर्नुभएकी १९ वर्षीया सपनाको छोरी जन्मिएपछि दैनिकी फेरिएको छ। मन तातो रक्सीको सुर्पीसँग शुरु भएको सपनाका दिन रक्सीको सुर्पीसँगै सकिन थाले।

‘सुरुसुरुमा त बानी पार्नै गाह्रो भयो। तर यहाँको चलननै यस्तै रहेछ,’ सपना भन्नुहुन्छ,– ‘जाँडरक्सी नखाने हो भने बच्चाको पेट दुख्छ, सुत्केरी कमजोर हुन्छन् र दूध पनि आउँदैन भन्दा रहेछन्।’ सासू ससुरा, श्रीमान् र घरका सबैजसोले रक्सी पिउने। नानी जन्मेपछिको एक महिना तिर्खा लाग्दा पनि रक्सी मात्रै दिएको र पिएको सपना बताउनुुहुन्छ। सपनाले १२ कक्षासम्म अध्ययन गर्नुुभएको छ।

गर्भवती र सुत्केरी महिलाले मादक पदार्थ सेवन गर्नुहुँदैन भन्ने उहाँलाई जानकारी नभएको पनि होइन। तर, समाज र परिवारमा वर्षौंदेखि चलि आएको परम्परागत संस्कार र परम्पराको आफूले चाहेर पनि प्रतिकार गर्न नसकेको उहाँको कथन छ। सपनाको मात्र होइन, बागलुङको बोबाङमा बसोबास रहेको कायत समुदायका हरेक महिलाको एउटै अनुभव छ। यहाँका सुत्केरीलाई दैनिक ४ देखि ६ बोतल रक्सी र जाँड खुवाउने गरेको स्थानीय सुनी कायत बताउनुहुन्छ।

‘शुरूमा अप्ठ्यारो लाग्यो, महिला मान्छे यसरी रक्सी खानु राम्रो होइन भन्ने पनि लाग्यो, खाँदै गएपछि विस्तारै नशा नभई नहुने अवस्थामा पुग्ने डर भइसक्यो,’ सुनी भन्नुहुन्छ– ‘तीन छोराछोरी हुँदासम्म सासू र परिवारको करले खाएँ, मेरा पाँच छोराछोरी छन्, खाँदा–खाँदै दिनदिनै खाने बानी परिसक्यो।’ छोराछोरी जन्मँदा रक्सी खान सिक्नुभएकी सुनी अहिले ५० वर्ष पुग्नुभएको छ। जाँडरक्सी नखाने हो भने काम गर्न नसकिने र कमजोर हुने डर रहेको उहाँको भनाइ छ।

आफ्नो समुदायमा रक्सी खानु नौलो विषय नभएको भन्दै छोरी र बुहारीलाई आफैंले रक्सी पारेर खुवाउने गरेको उहाँ बताउनुहुन्छ।सोही ठाउँकी पुनम कायत अहिले २७ वर्ष हुनुभयो। एक छोरा र एक छोरीका आमा बन्नुभएकी पुनमले दुई सन्तान जन्मदा ६ महिनासम्म पानी पनि नपिएर जाँड रक्सी मात्र खाएको बताउनुहुन्छ।

‘सुत्केरी हुँदा बच्चा बिरामी हुन्छ भनेर हामीलाई पानी पनि पिउन दिँदैनन्’, पुनमले भन्नुभयो– ‘यहाँ गाउँभर सुत्केरीका बेला तिर्खा लाग्यो भने रक्सी नै पिउने हो।’ सपना, सुनी र पुनमको मात्र होइन, लालमाया, खगिसरा, भीमकुमारी र दिलकुमारीको पनि कथा एउटै छ। सानैमा विवाह, विवाहपछि बच्चा र बच्चा जन्मेपछि मादक पदार्थ सेवन गर्न सुरु गरेका महिला कायत समुदायको घर–घरमै छन्।

बोबाङका गाउँघर र टोलमा घर–घरमै जाँडरक्सी बनाउने गरिन्छ। यसरी सुत्केरी हुँदा साथ जाँडरक्सी खुवाउने गरेपछि आमा र बच्चालाई धेरैबेर निद्रा पनि लाग्ने स्थानीय बताउँछन्। तर, यो स्वास्थ्यका हिसाबले कति उपयुक्त हो त ? यसबारे सरोकारवालाको यथोचित ध्यान, अध्ययन र खोज पुग्न सकेको छैन। गर्भवती भएको अवस्थामा महिलाले मादक पदार्थ सेवन गर्दा बच्चा खेर जान सक्ने, जन्मिए पनि शारीरिक रूपमा अपाङ्गता भएको, वौद्धिक रुपमा अपाङ्गता भएको जन्मन सक्ने धौलागिरी अञ्चल अस्पताल बागलुङका स्त्री तथा प्रसूती रोग विशेषज्ञ डाक्टर सौगात कोइराला बताउनुहुन्छ।

‘गर्भवती महिलाले जाँड रक्सी सेवन गर्दा बन्दै गरेको बच्चाको वृद्विविकासमै खलबल पुग्छ,’ डा.कोइराला भन्नुहुन्छ– ‘आमालाई त असर हुन्छ नै बच्चाको कलेजो निर्माण हुनेदेखि जन्मेको बच्चा पनि अपाङ्गता भएर जन्मने सम्भावना निकै बढी हुन्छ।’ आमाले मादक पदार्थ सेवन गरेको प्रभाव बालबालिकामा तत्काल देखिएन भने पनि दीर्घकालिन रूपमा समेत असर देखिने उहाँको भनाइ छ।

बच्चा ख्याउटे हुने, खाएको खाना नपच्ने, आमाको दूध मात्र खुवाउनुपर्ने बच्चालाई आमाले रक्सी खाएर दूध चुसाउँदा पोषणमा असर पर्न गई औसत आयु कम हुने, मानसिक र बौद्धिक रूपमा कमजोर हुनेसम्मको समस्या हुन सक्ने उहाँको भनाइ छ। गर्भवती र सुत्केरीले मादक पदार्थ सेवन गर्नुहुँदैन भनेर आफूले पटक–पटक भन्ने गरेको भए पनि आफ्नो कुरा कसैले नमानेको स्थानीय विश्वास कायतले बताउनुभयो।

कायत समुदायकै पहिलो स्वास्थ्यकर्मीसमेत रहनुभएका हेल्थ असिस्टेन्ट विश्वासले आफ्नो समुदायका महिला, पुरुष, बालबालिका र युवा युवतीलाई सचेतनाको आवश्यकता रहेको बताउनुहुन्छ। यहाँका महिला, बालबालिका, युवायुवती र जेष्ठ नागरिकले समेत खुलेरै मादक पदार्थ सेवन गर्ने गरेका छन्।

यसरी मादक पदार्थ सेवन गर्दा घरपरिवार र समाजमा झै–झगडा मात्र होइन, वर्षेनी भिरबाट लडेर मृत्यु हुनेहरूको संख्या पनि बढ्दै गएको विश्वास बताउनुहुन्छ। ‘यहाँको मुख्य अन्नबालीका रुपमा रहेको मकै, गहुँ, जौं र उवा हो,’–स्वास्थ्यकर्मी विश्वासले भन्नुभयो, ‘यहाँका मनिसहरू स्थानीय स्तरमा उत्पादन हुने अधिकांश अन्न जाँडरक्सी बनाएरै सक्छन्। यसले स्वास्थ्यमा असर त परेको छ नै, आर्थिक रुपमा पनि क्षति भएको छ।’

लामो समयदेखि मदिरा सेवा गर्दै आएकालाई एक्कासि रोक्न ग्राहो हुने भन्दै वडाले मदिरा नियन्त्रण अभियान शुरू गरेको वडा अध्यक्ष दिपक थापाले बताउनुभयो। ‘यहाँका युवा युवती, बालबालिकादेखि जेष्ठनागरिकले समेत मदिरा र सुर्तिजन्य पदार्थ सेवन गर्नुहुन्छ’, थापाले भन्नुभयो– ‘यसलाई एक्कासि रोक्न नसकिने रहेछ, अभियान सुरु भएको छ बिस्तारै नियन्त्रणमा आउनेछ।’

 

प्रतिक्रिया दिनुहोस्