५५ केजी गाँजासहित ६ पक्राउ



नेपाल समाचारपत्र, सिन्धुली।

सिन्धुलीमा प्रहरीले ५५ केजी गाँजासहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा हरिहरपुरगढी गाउँपालिका–७ का सन्तोष स्याङतान र आकास बल, अंकित मोक्तान र २४ सरोज स्याङतान, मरिण गाउँपालिका–२ का तिलकध्वज मोक्तान र सर्लाहीको बागमती नगरपालिकाका श्रवणकुमार वाइबा रहेका छन्। उनीहरूलाई प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो।

हरिहरपुरगढी गाउँपालिका–७ केमनचुलीको कच्ची सडकबाट तीन वटा मोटरसाइकलमा सर्लाहीतिर लैजाँदै गर्दा गाँजासहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक खत्री र क्यानेश्वर प्रहरी चौकीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरी सदरमुकाम ल्याएको थियो। उनीहरूले पाँच केजीका ११ वटा पोका बनाएर गाँजा लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको खत्रीको भनाइ छ।

उनीहरूले प्रयोग गरेका ना५८प. ८५१, ना४६प. २३१० र ना७प. २४१६ नम्बरका मोटरसाइकल, ६ वटा मोबाइल एवं केही नगद बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरेको एक पोका गाँजाको बजार मूल्य अहिले ५० हजार रुपियाँ रहेको डीएसपी खत्रीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्