शिक्षकसँग गैरकानुनी असुली



सलिम अन्सारी, प्युठान।

जिल्लामा शिक्षकहरूलाई प्रोत्साहन गर्नुको सट्टा विद्यालयले उल्टै श्रमशोषण गर्दै आएको खुलेको छ। नौवहिनी–८ स्थित लुप्लुङ माध्यमिक विद्यालयले विगत चार वर्षदेखि शिक्षक सरुवा भएर जाँदा वा नियुक्त हुँदा आधा महिनाको तलब विद्यालयले कटौती गर्ने गरेको छ।

विद्यालयले आर्थिक सहयोगको हवला दिँदै गैरकानुनी रूपमा शिक्षकहरूबाट रकम असुल्दै आएको हो । विद्यालयले आफूहरूको तलब कटौती गरेर शोषण गरेको शिक्षकहरूको गुनासो छ। हालसम्म ७ जना शिक्षकहरूले विद्यालयलाई आधा महिनाको तलब बुझाएका छन्।

२०७२ फागुन १७ गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले नवनियुक्त, शिक्षक, अवकाश र सरुवा भएर जाने शिक्षकहरूबाट १५ दिनको तलब विद्यालयलाई सहयोग गर्नुपर्ने निर्णय गरेको छ। शुरुमा ४५ दिनको निर्णय गरे पनि त्यसलाई घटाएर १५ दिनमा झारिएको शिक्षकहरूले बताएका हुन्।

एक महिनाअघि उक्त विद्यालयबाट सरुवा भएर सरुमारानी ५ जस्पुरस्थित भीमसेन माविमा जाँदा विद्यालयले तलब काटेको शिक्षक हुकुमबहादुर केसीले बताउनुभयो। मासिक ३७ हजार ९ सय ९० रुपियाँ तलब बुझ्दै आउनुभएका मावी तहका राहत शिक्षक केसीले १५ दिनबराबरको १८ हजार ९ सय ९५ रुपियाँ तलब कटौती भएको गुनासो गर्नुभयो।

‘लुप्लुङ माविमा १३ वर्ष पढाए’, उहाँले भन्नुभयो– ‘त्यसको मूल्यांकन भएन, उल्टै तलब काटियो।’ यो त डण्ड तिराएजस्तो भयो। विद्यालयले शिक्षक गोपाल घर्तीमगर, शालिकराम भण्डारी र वसन्ता पोखरेलले ९ हजार ३ सय ६५ रुपियाँका दरले आधा तलब बुझाएका छन्।

करारमा कार्यरत शिक्षक विष्णुप्रसाद भण्डारीले ११ हजार ४ सय ६९, सुरज केसीले १८ हजार ९ सय ९५ र रीता पोखरेलले १४ हजार ३ सय ५ रुपियाँ तलब सहयोग भन्दै बुझाएका छन्।

सोही विद्यालयमै कार्यरत शिक्षकहरूले खुलेर विद्यालयको विरोध गर्न सकेका छैनन्। तर सरुवा भएर गएका शिक्षकले विद्यालयको निर्णयप्रति असन्तुष्टि पोखेका छन्। उनीहरूले शिक्षकबाट लिएको जबरजस्ती सहयोगको रकम फिर्ता गर्नसमेत विद्यालयसँग माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्