मेसिनरी वाल ठडिएपछि माझीगाउँमा खुसीयाली



नानीराम नेपाल, सिन्धुपाल्चोक।

नदी कटानबाट बस्ती संरक्षणका लागि पर्खाल लगाइएपछि सुनकोसी गाउँपालिका ७ स्थित सुनकोसी नदी किनारको माझीगाउँमा यतिबेला खुसी छाएको छ।वर्षौंदेखि बस्ती संरक्षणको पर्खाइमा रहेका माझीगाउँको संरक्षणका लागि प्रदेश सरकारले झण्डै एक सय मिटर लामो पर्खाल उठाइदिएपछि स्थानीयले सुरक्षित महशुस गर्न थालेका छन्।

प्रदेशसभाका अर्थ तथा विकास समितिका सभापति एवम प्रदेश सांसद सरेश नेपालको पहलमा प्रदेश सरकारले माझीगाउँको बस्ती संरक्षणका लागि ९३ मिटर मेसिनरी वाल लगाइदिएको हो। नदी किनारमा मेसिनरी वाल लगाइएपछि माझी समुदायको वर्षौदेखिको बस्ती संरक्षणको सपना साकार भएको छ।

‘बस्ती संरक्षणका लागि धेरै ठाउँमा माग लिएर गयौँ, बल्ल हाम्रो सपना साकार भयो’, माझीगाउँका स्थानीय केशव माझी भन्दैथिए।प्रदेश सरकारको ५० लाख रकमबाट यस वर्ष माझीगाउँको संरक्षणका लागि ३.५ मिटर अग्लो वाल उठाइएको छ।

स्थानीय अम्मरबहादुर माझीको नेतृत्वमा उपभोक्ता समिति गठन गरी सोही समितिमार्फत बस्ती संरक्षणका लागि वाल उठाइएको हो। ‘बस्ती संरक्षणका लागि धेरैतिर हात थाप्दै गयौँ तर कतैबाट भरथेग भएन’, उपभोक्ता समितिका अध्यक्ष अम्मरबहादुरले सुनाए, ‘प्रदेश सरकारबाट दुई पटक गरी ५० लाख बजेट आयो, अनि वाल उठाएर बस्ती संरक्षण गर्न सक्यौँ।’

मुलुकमा पटक–पटक चुनाव भए। हर चुनावमा गाउँ आउने उमेदवारलाई माझीगाउँवासीले बस्ती संरक्षणको एउटै माग राख्दै आए। दल र नेताबाट आश्वासन मात्रै पाउँदै आएका उनीहरूले प्रदेशसभा निर्वाचनको दुई वर्षका बीच उनीहरू बस्ती संरक्षणको पर्खाल उठाउन सफल भए।

माझीगाउँको बस्ती संरक्षणका लागि गत साल प्रदेश सरकारबाट रकमान्तर गरेरै ५० लाख बजेट विनियोजन गरिएको प्रदेश सांसद सरेश नेपालले बताउनुभयो। यस वर्ष रातो किताबमै समावेश गरी माझीगाउँ बस्ती संरक्षणका लागि ५० लाख बजेट विनियोजन भएको थियो।

‘हर चुनावमा माझीगाउँमा पुग्दा बस्ती संरक्षणकै माग सुनिन्थ्यो, प्रदेश सरकारसँग समन्वय गरी माझीगाउँलाई संरक्षण गर्न सफल भएका छौं’, –सांसद नेपालले सुनाउनुभयो।

प्रतिक्रिया दिनुहोस्