नगरसभाद्वारा बाह्र कार्यविधि स्वीकृत



शिक्षा पन्त, लमजुङ।

बेंसीशहर नगरपालिकाको छैटौँ नगरसभाले १२ वटा ऐन, नियम र कार्यविधि स्वीकृत गरेको छ। नगरसभाले संशोधित बजेट, कानून, ऐननियम र कार्यविधि स्वीकृत गरेको नगरपालिकाले जनाएको छ।

स्वीकृत ऐन र कार्यविधिमा स्थानीय वातावरण तथा प्राकृतिक स्रोत संरक्षणसम्बन्धी विधेयक, पूर्वाधार, सुशासन, खेलकूद र नगर प्रहरी विधेयकलगायतका रहेका छन्।

शिक्षा ऐन २०७४ को संशोधन, सार्वजनिक खरिद नियमावली, तालिम सञ्चालन तथा व्यवस्थापन, महिला विकास कार्यक्रम सञ्चालन, पशु विकास, सार्वजनिक समारोह, स्वास्थ्य संस्था सञ्चालनलगायतका कार्यविधि २०७६ लाई सभाले पारित गरेको छ।

चालू आर्थिक वर्षका लागि कूल संशोधित बजेट रु ७३ करोड ९८ लाख ४८ हजार स्वीकृत गरेको र हालसम्म रु १३ करोड ६९ लाख २६ हजार खर्च भएको छ। उपप्रमुख लक्ष्मीदेवी अधिकारीले संशोधित बजेट तथा छ महिनाको अवधिमा भएको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो।

प्रतिवेदनमा आन्तरिक आय चालू वर्षका लागि रु ३ करोड २८ लाख १० हजार अनुमानित गरिएकामा हालसम्म रु १ करोड ५७ लाख ३० हजार प्राप्त भएको उल्लेख गरिएको छ।

त्यस्तै, चालू वर्षका लागि नगरका कूल ४ सय योजना रहेकामा हालसम्म ५० प्रतिशत सम्झौता भएको र ३१ योजना सम्पन्न भएको प्रतिवेदनमा उल्लेख छ।
पारदर्शी, जनउत्तरदायी र समृद्ध नगर निर्माणमा इमानदारिता र आर्थिक पारदर्शिताका आधारमा काम अघि बढाइएकाले सबै पक्षको सकारात्मक सहयोगले काम गर्न थप ऊर्जा मिलेको नगरप्रमुख अर्यालको भनाइ छ।

आर्थिक पक्ष, ऐन तथा कार्यविधि भने प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले प्रस्तुत गर्नुभएको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्