मंगलाको पूर्णगाउँमा होमस्टे सञ्चालनको तयारी



प्रताप बानियाँ, म्याग्दी। 

नेपाल भ्रमण वर्ष–२०२० को अवसरमा हिमाली जिल्ला म्याग्दीको मंगला गाउँपालिका–१, पूर्णगाउँमा होमस्टे (घरबास) सञ्चालनको तयारी थालिएको छ। आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि, स्थानीय उत्पादनको प्रचारप्रसार तथा बिक्रीवितरण र स्थानीयको आयआर्जन बढाउने उद्देश्यसहित होमस्टे कार्यक्रमलाई अगाडि बढाइएको हो।

होमस्टे सञ्चालनका लागि दुई दिनसम्म पूर्णगाउँका स्थानीयवासीलाई होमस्टे कार्यक्रमको व्यवस्थापन सम्बन्धी तालिम दिइएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु घरेलु तथा साना उद्योग विकास कोष काठमाडौंको आर्थिक सहयोग र नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा, म्याग्दीको आयोजनामा होमस्टे व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरिएको थियो।

तालिममा प्रशिक्षक घनश्याम गिरीले होमस्टे व्यवस्थापन, अर्गानिक खाना र अतिथि स्वागत तथा सत्कारको विभिन्न विषयहरूमा सहजीकरण गरेका थिए। तालिमको उद्घाटन गर्दै मंगला गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले गाउँपालिकाभित्र रहेका पर्यटकीय गन्तव्यका क्षेत्रमा गाउँपालिकामार्फत आवश्यक पूर्वाधारहरू निर्माणमा जोड दिइएको बताउनुभएको छ।

उहाँले नागरिकले राज्यलाई कर तिर्न सक्ने वातावरण बनाउन गाउँपालिकामार्फत विभिन्न आयआर्जनका कार्यक्रमहरू सञ्चालन गरिएको बताउँदै कार्यक्रमको स्थानीयवासीले अपनत्व लिएर सोहीअनुसार अगाडि बढ्नुपर्ने धारणा राख्नु्भयो।

तालिमका सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै मंगला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले तालिममा सिकेका ज्ञान, सिपलाई व्यवहारमा पूर्ण रुपमा उतार्न सहभागीलाई सुझाव दिएकी छिन्। नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेशका अध्यक्ष हरिहर थापाले होमस्टे कार्यक्रममार्फत स्थानीयको आयआर्जन बढाउनुपर्ने भन्दै स्थानीय उत्पादनलाई जोड दिन आग्रह गर्नुभयो।

नेपाल घरेलु तथा साना उद्योग महासंघ म्याग्दीका अध्यक्ष लीलाराम गौतमले महासंघको समन्वयमा उद्योगी, व्यवसायी र स्थानीयलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने बताउनुभयो।

कार्यक्रममा मंगला गाउँपालिकाका कार्यकारी सचिव राजेन्द्र आचार्य, पत्रकार प्रताप बानियाँ र होमस्टे तालिममा सहभागी टीकाकुमारी आचार्यले मन्तव्य राखेका थिए।

प्रतिक्रिया दिनुहोस्