जबरजस्ती भिक्षा माग्दै भारतीय महिला



नेपाल समाचारपत्र, विराटनगर। 

जबरजस्ती भिक्षाटन गरेको कसुरमा प्रहरीले १ दर्जन बढी भारतीय महिला तथा बालिकालाई सीमा कटाएको छ। विराटनगर महानगरपालिका क्षेत्रमा भिक्षाटन गर्दै हिंडेको समूहलाई प्रहरीले सीमा कटाएको हो।

समूहमा आएका भारतीय महिला तथा बालबालिकाको समूहले विभिन्न व्यक्तिको पसल र सार्वजनिक स्थलमा जबरजस्ती भिक्षाटन गरिरहेको गुनासो आएपछि वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी वेदप्रसाद गौतमको नेतृत्वमा खटिएको प्रहरीले उनीहरूलाई नगरक्षेत्रका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिइएका महिला तथा बालिकालाई सोधपुछपछि प्रहरीले नसिहतसहित सीमा कटाएको हो।

कानुनअनुसार जोरजबरजस्ती भिक्षाटन गर्न नपाइने भए पनि भारतबाट आएका महिला तथा बालिकाको सो समूहले बजारक्षेत्रका विभिन्न घर र पसलमा भिक्षा माग्ने र नदिँदा श्राप दिने भनेर धम्काइरहेको सूचना आएपछि नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालयका डीएसपी गौतमले बताउनुभयो।

नियन्त्रणमा लिइएका महिला तथा बालिकाहरूलाई अब उपरान्त भिक्षाटन नगर्ने कबोल गराएपछि प्रहरीले आफ्नै भ्यानमा हालेर रानी सीमा कटाएको हो।
यसअघि मकालु टेलिभिजनलाई प्रतिक्रिया दिँदै समूहकी नाइके निर्मला रावले भिक्षाटन गर्नु आफूहरूको पेसा रहेको बताउँदै कसैलाई जबरजस्ती नगरेको दाबी गरेकी थिइन्।

१ वर्षे दूधे बालकदेखि ३२ वर्षसम्मका महिला तथा युवतीहरूको समूह केही दिनअघि नेपाल प्रवेश गरेको तथा समूहका थप केही व्यक्ति जोगबनी रेल्वे स्टेसनमै रहेको जनाइएको छ। भारतको राजस्थान, जोधपुर लुङगा स्टेटबाट सो समूह भिक्षाटन गर्न नेपाल आएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्