लागूऔषध रोक्ने जनप्रतिनिधिलाई सम्मान



नेपाल समाचारपत्र, हेटौंडा।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न स्थानीय तहका जनप्रतिनिधिलाई सम्मान गरेको छ।आइतबार कार्यालयले मकवानपुरका विभिन्न भागमा रहेको लागूऔषध खेती रोकी सहजीकरण गर्न जनप्रतिनिधिको समेत साथ आवश्यक रहेको बताउँदै सम्मान गरेको हो।

लागूऔषध नष्ट गर्नु मात्र सफलता नभएको र त्यसको बिकल्पको बाटो खुलाउन सहजीकरणका लागि जनप्रतिनिधिसँग कार्यालयले सहयोगको अपेक्षासहित सम्मान गरेको हो।

कार्यक्रममा हेटांैडा उपमहानगर उपमेयर मीना लामा, थाहानगर, मकवानपुरगढी, राक्सिराङ, बागमती, बकैया, मनहरी र भीमफेदीलगायत गाउँपालिकाका जनप्रतिनिधिको उपस्थिति थियो।

कार्यक्रम प्रहरी प्रमुख प्रहरीउपरीक्षक सुशिलसिंह राठौरले सहजीकरण गर्दै जनप्रतिनिधिलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो। समुदाय–प्रहरी साझेदारी अवधारणाअनुरुप जिल्ला प्रहरी कार्यालय मकवानपुरको सभाहलमा समुदाय–प्रहरी साझेदारीमा उल्लेखनीय सहयोग पुर्याएबापत् १० वटै स्थानीय तहलाई संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबाट प्राप्त प्रसंशापत्रसहित सम्मान गरिएको हो।

निर्वाचित जनप्रतिनिधिलाई मकवानपुरमा रहेको लागूऔषध गाँजा तथा अफिम खेती, ओसारपसार, बिक्री वितरणलगायत अपराधको अवस्थाबारे प्रस्तुतीकरण तथा यसको न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर र स्थानीय तहको सहकार्य बारेमा प्रउ राठौरले प्रकाश पार्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्