चिसोले रुघाखोकी र ज्वरोका बिरामी बढे



विमल विष्ट, डोटी।

मंगलबारदेखि लगातार परेको वर्षासंगैको हिमपातका कारण जिल्लामा चिसो बढेको छ। चिसोका कारण यहाँको जनजीवन प्रभावित बन्दै गएको छ।चिसोका कारण यहाँका अस्पतालमा रुघाखोकी, निमोनिया, ज्वरो र टाइफाइटका बिरामी बढेका छन्।

चिसोका बिरामीमा नाकबाट पातलो सिंगान बग्ने, खोकी लाग्ने, ज्वरो आउने, पखाला लाग्नेजस्ता लक्षण देखा परेको छ।

चिसोका कारण जिल्ला अस्पतालमा २० जना तथा शैलेश्वरी अस्पतालमा १२ जना बिरामी भर्ना भएको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका चिकित्सक लोकेन्द्र बोहराले जानकारी दिनुभयो।

उहाँका अनुसार चिसोका बिरामीमा नाकबाट पातलो सिंगान बग्ने, खोकी लाग्ने, ज्वरो आउने पखाला लाग्नेजस्ता लक्षण देखा परेको छ। जिल्लासहित यहाँका अन्य स्थानीय तहमा रहेका सरकारी अस्पतालमा समेत चिसोका कारण बिरामीको चाप बढ्न थालेको छ। चिसोका कारण सबैभन्दा बढी बालबालिका र जेष्ठ नागरिक प्रभावित बनेको स्थानीयवासी छन्।

वर्षात् र हिमपातका कारण जिल्लाका बडीकेदार, बोगटान फुड्सिल, जोरायल, सायल, दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, पूर्वीचौकी गाउँपालिकालगायतका विभिन्न ठाउँमा बिरामीको संङ्ख्यामा वृद्धि भएको स्थानीयवासी प्रकाशबहादुर बोहराले बताउनुभयो।

स्वास्थ्य चौकीमा उपचारका लागि आउने बिरामीहरू चिसोका कारण रुघाखोकी, ज्वरोलगायतका सरुवा रोगबाट पीडित रहेको जोरायल स्वास्थ्य प्रमुख गोविन्द विष्टले बताउनुभयो।उहाँले भन्नुभयो– ‘चिसो बढेको छ जेष्ठ नागरिक र केटाकेटीमा बढी समस्या देखिएको छ।’ चिसो समय शुरु भएकाले चिसोमा तातोयुक्त झोल खानेकुरा र न्यानो लुगा लगाए केही दिनमै रोग निको हुने शैलेश्वरी अस्पतालका डा. ललीत लिम्बूले बताउनुभयो।

चिसोका कारण यहाँका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरू बढी प्रभावित बनेपछि पठनपाठनमा समेत प्रभाव परेको र बिहान उठेर मेलापात गर्ने महिलाहरू पनि रोगबाट बढी प्रभावित बनेका जोरायल गाउँपालिका ५ का स्थानीय पुर्णबहादुर विष्टले बताउनुभयो। त्यस्तै चिसोका कारण सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायललगायतका क्षेत्र आउने पर्यटक प्रभावित भएका छन्।

मङ्सिर यता डोटीलगायत समग्र सुदूरपश्चिममा पाँचौँपटक बाक्लो हिमपात भइसकेको छ। चिसो हिमपातले अत्यधिक चिसो बढ्ेपछि यहाँका उच्च पहाडी क्षेत्रमा गाई, भैंसी, भेडा चराउन गएका स्थानीयहरू अहिले खर्कबाट बेँसीतिर झर्न थालेका छन्। यहाँका वस्तीमा बाक्लो हिमपात भएको छ।

जिल्लाको उच्च लेकाली भाग तथा सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तड आसपासका क्षेत्रममा कम्तिमा पनि दुईदेखि तीन फिटसम्म हिउँ परेको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालय डोटीले जनाएको छ।

वर्षा र हिमपातका कारण पशुचौपायालाई चरनका लागि जंगलसम्म लैजान निकै समस्या भएको शिखर नगरपालिका १ नापानीका स्थानी दीर्घबहादुर ऐरले बताउनुभयो। उहाँले भन्नुभयो– ‘जताततै हिउँ नै हिउँ परेको छ त्यसमाथि लगातार वर्षा भइरहेकोले गाईवस्तु चराउन लैजानसमेत समस्या भएको छ।’

डोटीकोे खप्तडस्थित झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेक, बडीकेदारथानलगायतका उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको स्थानीयवासीले जानकारी दिएका छन्।

हिमपताले हिउँदमा लगाएको अन्न बालीमा पर्याप्त मात्रामा पानी पुग्ने भन्दै केही दिन पहिले खुसी भएका यहाँका लेकाली क्षेत्रका स्थानीय भने अहिले पाँचौपटक हिउँ पर्दा पानीले गहुँ, जौ, आलुलगायतका तरकारी बाली कुहिने तथा बिग्रिने भन्दै चिन्तित बनेका छन्।

यहाँका उच्च लेकाली भेगमा अहिले पनि हिमपात भइरहेको छ भने दिपायल, सिलगढीलगायतका ठाउँहरूमा ३ दिनदेखि मसिनो पानी परिरहेको छ। पानी र हिमपातका कारण यहाँको तापक्रम निकै घटेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्