हात्तीपाइलेको जोखिम कायमै



नेपाल समाचारपत्र, पर्वत।

मुलुकका धेरै जिल्लामा हात्तीपाइले रोगविरुद्धको अभियान सफल भइसके पनि पर्वत जिल्ला भने अझै पनि हात्तीपाइले रोगको उच्च जोखिममा रहेको पाइएको छ। पर्वतमा सन् २०१० देखि नियमितरूपमा १० पटक आमरूपमा औषधी खुवाउने कार्यक्रम सकिए पनि जिल्लामा हात्तीपाइले रोगको उच्च जोखिम कायमै रहेको पाइएको हो।

हात्तीपाइलेको जोखिम कायमै रहेको पाइएकाले आगामी माघ २५ गते ११औं चरणको कार्यक्रम पर्वतमा सञ्चालन हुने भएको छ। दशौं चरणसम्म अभियान सञ्चालन गर्दा पनि हात्तीपाइले संक्रमितको संख्या १ प्रतिशतभन्दा तल नझरेपछि पुनः ११औं पटक अभियान सञ्चालन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतले जानकारुी दिएको छ।

पर्वतमा अझै पनि हात्तीपाइले रोगको संक्रमण भएका २ दशमलव ९५ प्रतिशत जनसंख्या रहेकाले ११औं पटक अभियान सञ्चालन गर्नुपरेको कार्यालय प्रमुख डा. भोजराज गौतमले बताउनुभयो।

सन् २०१८ मा पर्वतका खानीगाउँ र पा·मा गरिएको नमुना परीक्षणका क्रममा खानीगाउँमा ० दशमलव ६७ र पाङमा २ दशमलव ९५ प्रतिशत व्यक्तिमा हात्तीपाइलेको जीवाणु भेटिएको थियो। यी वडाहरूमा सन् २००१ मा गरिएको बेसलाइन सर्वेक्षणमा ४ दशमलव ८३ प्रतिशतमा हात्तीपाइलेको जीवाणु भेटिएको थियो। त्यसयता खानीगाउँमा घटे पनि पा·मा भने समस्या देखिँदै आएको छ।

पर्वतमा औषधी घरमा लैजाने तर सेवन नगर्ने परम्परा रहेका कारण हात्तीपाइले रोग निवारण प्रभावकारी हुन नसकेको हो’, स्वास्थ्य कार्यालय प्रमुख डा. गौतमले भन्नुभयो– ‘यसपटक कागजको पोकोमा औषधी घरमा लैजाने कुरा बन्द गरेर स्वास्थ्यकर्मीले प्रत्यक्ष निगरानीमै खुवाउने व्यवस्था मिलाएका छौं।’

पर्वतसहित देशका १३ जिल्लामा माघ २५ गते सामूहिकरूपमा औषधी खुवाउने कार्यक्रम रहेको छ। पर्वतमा दुई वर्षभन्दा कम उमेरका तथा गर्भवती महिला छाडेर जिल्लाको कुल जनसंख्यामध्ये १ लाख ५ हजार ५ सय १६ जनालाई औषधी सेवन गराउने अभियानको लक्ष्य रहेको कार्यालय प्रमुख डा. भोजराज गौतमले जानकारी दिनुभयो।

अभियानका लागि जिल्लाका सबै स्वास्थ्यकर्मी र स्वयंसेविकालाई परिचालन गर्ने तयारी भएको छ। स्वास्थ्यकर्मीले घरमै पुगेर आँखाअगाडि औषधी खुवाउने र स्वयंसेविकाले सहयोग गर्ने कार्यक्रम छ।

घरमा लैजाँदा औषधी नखाने, जाने बुझेकाले समेत औषधी खान नमान्दा सबैले पटकपटक औषधी खानुपर्ने बाध्यता छ। यसपटक सबैजनाले औषधी खाने कार्यक्रम सफल बनाउन सकेमा आगामी वर्षदेखि औषधी सेवन गर्नुनपर्ने भएका कारण पनि सबैले औषधी खान र त्यसले कुनै हानी तथा असर नपु¥याउने हुँदा ढुक्क हुन डा. गौतमले आग्रह गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्