जन्मकैदको पर्वाह नगरी अफिम तस्करी



नेपाल समाचारपत्र, हेटौंडा।

प्रहरीले बुधबार हेटांैडा उपमहानगरपालिका–१९, नेवारपानीस्थित पूर्वपश्चिम लोकमार्गको सडकखण्डमा बोलेरो पिकअप गाडीबाट गाँजा र अफिम बरामद गरेको छ।इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी नायब निरीक्षक राजेशकुमार यादवको कमान्डमा खटिएको चेकिङ टोलीले मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको बा३च ५९९७ नम्बर बोलेरो पिकअप गाडीबाट ६३ केजी गाँजा र ३ सय ग्राम अफिम बरामद गरेको हो।

गाडीको पछाडि भागमा फल्सबटम बनाएर २१ वटा प्याकेटमा लुकाइल्याइएको लागूऔषध गाँजा ६३ केजी र लागूऔषध अफिम ३ सय ग्राम फेला परेको प्रहरीले जनाएको छ।

गाडीचालक बाराको पर्सौनी गापा–६ बस्ने वर्ष २८ का रामजी साहतेली र गाडीका यात्री बाराको आदर्श कोतवाल गापा–२ बस्ने वर्ष ३० का प्रेम पटेललाई गाँजा, गाडी र अफिमसहित पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको छ।

उनीहरूलाई गाँजा मुद्दामा लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम २ वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि १ लाख रुपियाँसम्म जरिवाना तथा सवारीसाधन जफत हुने तथा अफिममा लागूऔषध नियन्त्रण ऐनबमोजिम १५ वर्षदेखि जन्मकैद र ५ लाखदेखि २५ लाख रुपियाँसम्म जरिवाना तथा सवारीसाधन जफत हुने कानुनी प्रावधान रहेको प्रहरीले जनाएको छ।

वर्षेनी बढ्दै बरामदीको ग्राफ

मकवानपुरमा प्रहरीले गत आवमा ३ हजार एक सय ९३ केजी ५ सय ३० ग्राम लागूऔषध गाँजा नियन्त्रणमा लिएको छ। लागूऔषध कारोबार र ओसारपसारमा संलग्न रहेको आरोपमा १ सय ६९ पुरुष र ६ महिला पक्राउ परेका छन्। पक्राउ पर्नेमा २८ भारतीय पुरुष र ३ भारतीय महिला पनि छन्। यो तथ्यांक वर्षेनी बढ्दो छ।

आव २०७५÷०७६ को साउनमा ३ सय १८ केजी ८ सय २० ग्राम गाँजा नियन्त्रणमा लिइएको थियो। भदौमा २३ केजी १ सय ५७ ग्राम, असोजमा ३ सय २० केजी २ सय १० ग्राम, कात्तिकमा २९ केजी ६ सय ८० ग्राम, मंसिरमा २४ केजी १ सय ५५ ग्राम र माघमा २ सय ७४ केजी ८ सय ७५ ग्राम, फागुनमा ५ सय ३ केजी ६ सय ३० ग्राम गाँजा नियन्त्रणमा लिइएको थियो।

बेबारिस अवस्थामा ३ सय ४९ केजी गाँजा नियन्त्रणमा लिइएको थियो। आव २०७५/०७६ को चैतमा ५ सय ३२ केजी ७ सय ४३ ग्राम गाँजा नियन्त्रणमा लिइँदा वैशाखमा ३ सय ६२ केजी २ सय ग्राम नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। जेठमा २ सय ७६ केजी ४ सय ग्राम र असारमा १ सय ५३ केजी ६ सय ३० ग्राम गाँजा नियन्त्रणमा लिइएको थियो।

यसबारे १ सय ४७ जनाविरुद्ध मुद्दा चलाइएको थियो। चालू आर्थिक वर्षको साउनदेखि माघ १५ गतेसम्म ७ सय ३१ केजी ४ सय ७० ग्राम गाँजा नियन्त्रणमा लिइसकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले बताउनुभयो।

चालू आर्थिक वर्षको साउनमा २ केजी ५ सय ८० ग्राम गाँजा नियन्त्रणमा लिइएको थियो। भदौमा १ सय २३ केजी ४० ग्राम गाँजा र असोजमा ८६ केजी ९ सय ६० ग्राम, कात्तिकमा १ सय २६ केजी १ सय ग्राम, मंसिरमा २२ केजी ५ सय ग्राम, पुसमा ९९ केजी र माघ १५ गतेसम्म ७५ केजी २ सय ९० ग्राम गाँजा नियन्त्रणमा लिइएको छ। चालू वर्षको साउनदेखि माघ १५ सम्म १ सय २२ जनाविरुद्ध मुद्दा चलाइएको छ।

प्रतिक्रिया दिनुहोस्