डोटीमा कुष्ठरोगीको संख्या थपिँदै



विमल विष्ट, डोटी।

डोटी जिल्लामा पछिल्लो समय कुष्ठरोगीको संङ्ख्या थपिँदै गएको पाइएको छ। अहिले जिल्लामा सात जना कुष्ठरोगी रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ।

गत आर्थिक वर्षको अन्तिम असारसम्म जिल्लामा ३ जना कुष्ठरोगी रहेकोमा चालु आर्थिक वर्षको पौष मसान्तसम्ममा थप ४ जना कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ।

उक्त तथ्यांकअनुसार केआईसिंह गाउँपालिकामा १ जना, शिखर नगरपालिकामा २ जना, पूर्वीचौकी गाउँपालिकामा १ जना, दिपायल सिलगढी नगरपालिकामा २ जना र बडीकेदार गाउँपालिकामा १ जना कुष्ठरोगका बिरामी फेला परेका हुन्।

स्वास्थ्य कार्यालयको रेकर्डमा आउन बाँकी रहेका २ जना फेरि नयाँ कुष्ठरोगी फेला परेको क्षय कुष्ठरोगसम्बन्धी फोकल पर्सन उद्धवसिंह ठगुन्नाले बताउनुभयो। उहाँले भन्नुभयो, ‘हाम्रो रेकर्डमा आउन बाँकी रहेका दुईजना कुष्ठरोगीको बारेमा जानकारी आएको छ, सबै अध्ययन गरेर हामी रेकर्डमा राख्नेछौँ।’

जिल्लामा कुष्ठरोगीको संङ्ख्या थपिदै जान थालेपछि स्वास्थ्य कार्यालयले चालु आर्थिक वर्षमा जिल्लाका नौ वटै स्थानीय तहमा कुष्ठरोगका बिरामी पहिचानका लागि स्क्रिनिङ क्याम्प गर्ने योजना रहेको स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमुख तथा जनस्वास्थ्य अधिकृत रमेश मलासीले जानकारी दिनुभयो।

नेपाल सरकारले कुष्ठरोग मुक्त नेपालको परिकल्पना गर्दै सन् २०२० मा कुष्ठरोग प्रकोप दर प्रति १० हजार जनसंङ्ख्यामा १ जनाभन्दा कम गर्ने लक्ष्य राखेको भए पनि डोटीमा कुष्ठरोगीको संङ्ख्या थपिँदै जान थालेपछि उक्त लक्ष चुनौतीका रूपमा लिइन थालिएको छ।

कुष्ठरोगका बिरामीहरूलाई जिल्लामा देवीदेउता, पिचाश लागेको भन्ने समाजमा रहेको अन्धविश्वास र विभेदको अन्त्य गरी स–सम्मान स्वास्थ्य उपचार गर्ने वातावरण सिर्जनाका लागि चेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने जिल्ला अस्पताल डोटीका अध्यक्ष यज्ञराज जोशीले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘कुष्ठरोगका बिरामीलाई देवीदेउता लागेको भन्दै गाउँबाट अलगै राख्ने र कसैले पनि छुन नहुने भन्ने अन्धविस्वासले यो रोग निवारण गर्न समस्या भएको छ। कुष्ठरोगीलाई स–सम्मान उपचार गर्नमा सबैले सहयोग गर्न जरुरी छ।’

समाजमा कुष्ठरोगीप्रति हुने गरेका विभेद नहटाउन्जेलसम्म यो समस्या विद्यमान रहने र कुष्ठरोग निर्मुल पार्न नसकिने दिपायल सिलगढी नगरपालिका ३ का स्थानीय तथा समाजसेवी घनश्याम पाठकले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘कुष्ठरोग निर्मुल पार्ने हो भने रुढीवादी सोच चिन्तन हटाउनु जरुरी छ, कुष्ठरोगीलाई अलगै राख्ने होइन उपचार गर्नमा सहयोग गर्न जरुरी छ।’

कुष्ठरोगलाई अन्त गर्नका लागि जिल्लाका स्थानीय तह र त्यहाँका वडाका अध्यक्षदेखि वडासदस्यहरूको मुख्य भूमिका रहने सुदूरपश्चिम गाउँपालिका अध्यक्ष महासंघका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्