बागेश्वरी मन्दिरको जग्गा प्रकरण : सरकारले जग्गा फिर्ता गर्ने तयारी गरेपछि आन्दोलनमा



नेपाल समाचारपत्र, बाँके।

बागेश्वरी मन्दिरको जग्गा किनेर बसेकाहरू आन्दोलनमा उत्रिएका छन्।
सरकारले मन्दिरको जग्गा फिर्ता ल्याउने तयारी गरेसँगै त्यो जग्गामा बसेकाहरू आन्दोलनमा उत्रिएका हुन्।

मन्दिरको इन्द्रपुरमा रहेको ८४ विगाह जमिन व्यक्तिको नाममा गएपछि सरकारद्वारा गठित सार्वजनिक, सरकारी र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले तीन महिना लगाएर अध्ययन गरेको थियो।

समितिले सरकारलाई प्रतिवेदन बुझाउँदै व्यक्तिको नाममा गएको मन्दिरको जग्गा फिर्ता ल्याउन प्रतिवेदन दिएको छ। त्यही प्रतिवेदनका आधारमा सरकारले मन्दिरको जग्गा फिर्ता ल्याउने तयारी गरेको छ।

मन्दिरको जग्गा व्यक्तिको नाममा पुर्याउनेहरू दोषी हुन्। जग्गा किनेर बस्नेहरूलाई त्यो थाहा हुन सक्थ्यो। स्थानीयवासी अब्दुल रसिद बागवानले मन्दिरको जग्गा थियो भने व्यक्तिको नाममा कसरी आयो, त्यसलाई कारबाही गर्नुपर्ने बताउनुभयो। उहाँले आफूहरूले जग्गा किनेर बसेकाले सरकारले उठाउन नमिल्ने तर्क दिनुभयो।

स्थानीयवासी तुलाराम कुर्मीले डेढ सय वर्षदेखि कर तिरेर बसेको ठाउँबाट कसैलाई हटाउन नमिल्ने बताउनुभयो। ‘कागज र प्रमाणहरू हेरेर छानबिन गर्नुस्। खालि पत्रपत्रिकामा आएका समाचारलाई हेरेर हुँदैन, तुलारामले मिडियाप्रति पनि आक्रोश पोख्दै भन्नुभयो, हचुवाको भरमा सरकारले निर्णय गर्न मिल्दैन।’

दीपक शाहले आफूहरू भू–माफिया नभएको बताउनुभयो। ‘सरकारले हामीलाई किन जग्गा दियो, अहिलेसम्म कर लिएको छ कि छैन हेर्नुपर्दैन ? शाहले आक्रोश पोख्नुभयो, लालपूर्जा दिने निकायले त्यतिबेला के हेरेको थियो ?’

इन्द्रपुरका स्थानीयवासीले वीपीचोकमा आएर केहीबेर प्रदर्शन गर्दै सडक जाम गराएका थिए। उनीहरूले यसलाई सांकेतिक आन्दोलन भनेका छन्। सरकारले निर्णय नसच्याए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्