ठगी धन्दामा सक्रिय समूह धमाधम पक्राउ



सरोज यादव, विराटनगर।

चिठ्ठा पर्छ भन्दै सर्वसाधारणबाट रकम असुल गर्ने पाँचजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ।चिठ्ठामार्फत ठगी गरेको आरोपमा जहदा गाउँपालिका–२ का ३० वर्षीय किसनदेव साह, उनका सहयोगी रंगेली नगरपालिका–६ नयाँटोलका कमलेशकुमार मण्डल, जहदा–७ का राजेशकुमार साह,जाहेरवाला श्रवणकुमार महतो र सूर्यानन्द महतोलाई प्रहरीले पक्राउ गरेको छ।

किसनदेव साहले जिल्ला प्रशासन कार्यालय मोरङमा अमन समाज नेपाल कटहरी–१ मोरङको नाममा संस्था दर्ता गरेको र अरुको सहयोगमा आधिकारिक सरकारी निकायको इजाजत नलिई गैरकानुनी रुपमा आफू खुसी कार, मोटरसाइकल, टिभी, रेफ्रीजेरेटर, साइकल, ग्याँस चुलोसमेतका विभिन्न इलेक्ट्रोनिक सामान चिठ्ठामा पर्छ भन्दै सर्वसाधारण मानिसबाट रसिद काटी रकम असुल गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ।

उनीहरूले आफ्ना विभिन्न एजेन्टहरूमार्फत विभिन्न मानिसबाट रकम उठाई अन्तिम १६औँ किस्तासम्ममा पटक–पटक गरेर झण्डै ४९ लाखबराबर पैसा उठाएको पाइएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले जानकारी दिनुभयो।

उनीहरूले अमन नेपाल संस्थाको आडमा बिराटनगर–४ स्थित श्याम साहले सञ्चालन गरेको श्याम पार्टी प्यालेसमा महिनामा २ पटकको दरले चिठ्ठा खोल्ने, चिठ्ठाका लागि प्रतिव्याक्ति ३ सय ८० रुपियाँ उठाउने र पार्टी प्यालेसलाई ७ हजार रुपियाँ भाडा दिने गरेको खुलेको छ।

उनीहरूले सेटिङमा चिठ्ठामा उल्लेखित सस्तो कुराको चिठ्ठामा पार्ने र महँगो कुराको नपार्ने गरेको पाइएको एसपी अधिकारीले बताउनुभयो।

गैह्रकानुनी रुपमा चिठ्ठा सञ्चालन गर्ने गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गत पुस २८ गते किसनदेव साह, कमलेशकुमार मण्डल, राजेशकुमार साहलाई संस्था रहेकै स्थानबाट पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्