प्रहरीले समात्यो ३२ किलो गाँजा



नेपाल समाचारपत्र, हेटौंडा।

प्रहरीले मंगलबार राति करिब साढे १२ बजे हेटौंडा–११ को थानाभर्याङस्थित पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा गोली प्रहार गरेर गाँजासहित तस्करहरूलाई नियन्त्रणमा लिएको छ।

वडा प्रहरी कार्यालय हेटौंडाबाट प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीको कमान्डमा खटिएको ट्राफिकसहित चेकिङ टोलीले मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको बीआर–०६ जे ४४५८ नम्बर भारतीय कार चेक गर्न खोज्दा कार नरोकी हेटौंडा–१ को भैरवडाँडातर्फ भागेपछि प्रहरीले पेस्तोलबाट १ राउण्ड हवाइफायर गर्यो। तर, कार रोकिएन।

कारको टायरमा प्रहरीले पुनः १ राउण्ड गोली फायर गरी कारलाई नियन्त्रणमा लियो। कारचालक भारतको मुजफ्फपुर बस्ने सञ्जित पासवान, कारका यात्री भारतकै मुजफ्फरपुर बस्ने अजैमल हवारी र मुजफ्फरपुरकै जाहेरा खातुनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

कार चेक गर्दा कारको पछाडि सिटमुनि फल्स बटम बनाएर १६ वटा पोकामा ३२ किलो लागू औषध गाँजा फेला पर्यो।

उनीहरूलाई गाँजासहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय तर्फ ल्याउने क्रममा हेटौंडा–११, राप्तिपुलस्थित पूर्वपश्चिम सडकखण्डमा काँकडभिट्टाबाट धनगढीतर्फ जाँदै गरेको ना. ५ ख ५५८२ नम्बर यात्रुबाहक रात्रि बसले वडा प्रहरी कार्यालय हेटौंडाको ना. १ १४१७ नम्बर मोबाइल गाडीलाई ठक्कर दियो।

प्रतिक्रिया दिनुहोस्