कारागारका महिला कैदीलाई सेनेटरी प्याड



नेपाल समाचारपत्र, सल्यान।

जिल्ला कारागार सल्यानमा रहेका महिला कैदी बन्दीहरूलाई सेनेटरी प्याड वितरण गरिएको छ।शारदा नगरपालिकाले कारागारमा रहेका १८ जना महिला कैदी बन्दीलाई सेनेटरी प्याड वितरण गरेको हो।

महिनावारी भएको समयमा विभिन्न समस्या हुन सक्ने भएकाले नगरपालिकाले उनीहरूलाई सेनेटरी प्याड वितरण गरेको नगर प्रमुख सुरेश अधिकारी जानकारी दिनुभयो। कारागारमै पुगेर सेनेटरी प्याड वितरण गरिएको उहाँले बताउनुभयो।

यस्तै कारागारमा रहेका बालबालिकाका लागि पठनपाठन सामग्री पनि वितरण गरिएको छ। नगर प्रमुख अधिकारीले कारागारमा रहेका महिला कैदी र उनीहरूका बालबालिकालाई सहज होस् भनेर सामग्री हस्तान्तरण गरेको बताउनुभयो।

कारागारमा रहेका चार जना बालबालिकामध्ये विद्यालय जाने उमेर पुगेका दुई जना बालबालिकालाई अध्ययन गर्न सहयोग पुर्याउने उद्देश्यले एक थान ह्वाइट बोर्ड, तीन दर्जन कापी, पेन्सिल र मार्कर वितरण गरिएकोे बताउनुभयो।

कैदी महिलाले प्याड र शैक्षिक सामग्रीको माग गरेपछि सामाग्री हस्तान्तरण गरेको बताउनु भयो।नगर प्रमुख अधिकारीले कैदी बन्दीको समस्यालाई मध्यनजर गर्दै आगामी दिनमा कारागारका कैदीबन्दीलाई नगरपालिकाले सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्नु भयो।

कैदी जीवन विताइरहेका बाग्चौर नपा–७ कोटबारा निवासी टेकबहादुर रावत र गंगा रावतका दुई सन्तान ६ वर्षीया चेतना रावत र उनकी चार वर्षीया बहिनी वर्षा रावतलाई सामान्य अध्यापन गराउँदै आएकी बन्दी सलिना गहतराजले शैक्षिक सामग्री पाएपछि अध्यापन गराउन सहज भएको बताउनुभयो।

कारागारमा महिलाहरू महिनावारी भएको समयमा सफा कपडा प्रयोग गर्न नसकेको अवस्थामा नगरपालिकाले उपलब्ध गराएको प्याडले सहगोग पुग्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्