तिलोत्तमा व्यापार मेलामा सरसफाइलाई विशेष प्राथमिकता



यमलाल भुसाल, बुटवल। 

रुन्देहीको तिलोत्तमा उद्योग वाणिज्य संघले मणिग्राममा आयोजना गरेको दोस्रो राष्ट्रिय औद्योगिक व्यापार मेलामा सरसफाइलाई विशेष प्राथमिकता दिइएको छ।

कृषि, उद्योग र पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको औद्योगिक व्यापार मेलामा प्लास्टिकजन्य पदार्थलाई निरुत्साहित गर्ने नीति लिइएकोे छ।

तिलोत्तमा नगरपालिकाले नगरपालिका क्षेत्रभरिमा ‘क्लिन तिलोत्तमा, ग्रीन तिलोत्तमा’ र प्लास्टिकमुक्त तिलोत्तमा’ अभियान सञ्चालन गरेको छ।

नगरपालिकाले सञ्चालन गरेको अभियानलाई साथ र सहयोग गर्नका लागि सन्देशमूलक रूपमा मेलामा सरसफाइलाई विशेष प्राथमिकता दिइएको तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला आयोजक मूल समितिका संयोजक गुणनिधि भण्डारी ‘माधव’ले बताउनुभयो।

मेलामा प्लास्टिकको प्रयोगलाई प्रतिबन्ध लगाइएको छ भने मेलामा राखिएका होटलहरूमा पनि प्लास्टिकको प्रयोग नगर्न आग्रह गरिएको छ। मेलाभित्र होटल तथा स्टलहरूमा प्लास्टिकको प्रयोग भए नभएको मेला सचिवालय र तिलोत्तमा नगरपालिकाबाट समेत नियमित अनुगमन भइरहेको नगरपालिकाले जनाएको छ।

मेलामा फोहोर व्यवस्थापनका लागि क्रियाशील स्थानीय आमा समूहले सहयोग गरेका छन्। मेलामा सबैको साथ र सहयोगकै कारण आयोजकको चाहनाअनुसार मेला स्थल सफा रहेको संघका महासचिव कमल कँडेलले बताउनुभयो।

प्लास्टिकको प्रयोगलाई प्रतिबन्ध लगाइएको मेलामा उत्पादन भएका अन्य फोहोर नगरपालिकाले व्यवस्थापन गर्ने गरेको छ।

मेलामा जम्मा भएको फोहोर दिनहुँ नगरपालिकाको गाडी आएर लैजाने गरेको सरसफाइ व्यवस्थापन उपसमितिका संयोजक तोलाकान्त अधिकारीले बताउनुभयो।

मेलामा तिलोत्तमा नगरपालिकाभित्र उद्योग तथा उत्पादनलाई स्टलमा सहुलियत प्रदान गरिएको छ भने तिलोत्तमामा लगानीका लागि प्रयाप्त सम्भावना रहेको भन्दै मेलाबाट लगानीको खुल्ला आह्वानसमेत गरिएको अध्यक्ष भण्डारी बताउनुहुन्छ।

 

 

प्रतिक्रिया दिनुहोस्