विप्लवका जिल्ला सेक्रेटरीसहित पक्राउ



सञ्जय कार्की, रौतहट।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा रौतहट जिल्ला सेक्रेटरीसहित दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। चितवनको खैरेनी नगरपालिका–१ घर भई नेत्रविक्रम चन्द नेतृत्वको नेकपा रौतहट जिल्ला सेक्रेटरी सृजना शाही भन्ने दिर्शनाकुमारी शाही र चन्द्रपुर–३ निवासी जिल्ला समिति सदस्य दुर्गा बललाई इलाका प्रहरी कार्यालय रौतहटको प्रहरी टोलीले मकवानपुरको सीमा जोडिएको चन्द्रपुर–३ इपिलघारीबाट पक्राउ गरेको हो।

पक्राउ परेका दुवैजना इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको हिरासतमा रहेका छन्। सेक्रेटरी शाहीलाई चन्द्रपुर–३ स्थित ईन्द्र थिङको घरबाट र दुर्गा बललाई उनको आफ्नो घरबाट पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक हेमबहादुर शाहीले बताउनुभयो।

परेका दुवैलाई जनप्रतिनिधि, उद्योगी, व्यवसायी, कर्मचारीलाई डरत्रास देखाई चन्दा असुल्ने गरेको आरोप लगाइएको छ। गएको पुस १५ गते गुजरा नगरपालिका–८ जुगौलिया टोलको एनसेल टावर, गएको माघ १३ गते चन्द्रपुर–२ कलटोलमा रहेको एनसेल टावरमा आगजनी गराई क्षति पुर्याइ अपराधिक क्रियाकलाप र गतिविधिमा संलग्न रहेको आरोपसमेत लगाइएको छ।

प्रहरी नायब उपरीक्षक शाहीले दुवैमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ मा अपराधिक प्रवेश तथा अपराधिक उपद्रो कसुरको दफा २८५ को उपदफा ३ अनुसारको मुद्दा आकर्षित हुने बताउनुभयो। सो उपदफामा २ वर्षदेखि ५ वर्षसम्म कैद, २० हजारदेखि ५० हजारसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने रहेको छ।

प्रतिक्रिया दिनुहोस्