गिटी बालुवा ननिकाल्न निर्देशन



गोकुल घोरसाइने, बारा।

मापदण्डविपरीत उत्खनन भइरहेको भन्दै जिल्ला समन्वय समिति बाराको दुधौरा खोलाबाट गिटी बालुवा निकाल्ने कार्य तत्काल रोक्न जितपुर सिमरा उपमहानगरपालिकालाई निर्देशन दिएको छ।समन्वय समितिले दुधौरा खोला अनुगमनमा क्रममा चरम लापरबाही भएको फेला पारेपछि उत्खनन रोकेर सम्पूर्ण कागजपत्रसहित कार्यालयमा उपस्थित हुन ठेकेदारलाई निर्देशन दिएको छ।

‘अनुगमनका क्रममा मापदण्डविपरीत उत्खनन भएको देखिएपछि सभापति आफैँले एक्जाभेक्टर र टिपर चालकलाई अहिले नै उत्खनन कार्य बन्द गर्नुहोस्, सबै कागजपत्र लिएर कार्यालयमा उपस्थित हुनु भनी निर्देशन दिनुभएको छ।’

डिभिजन वन कार्यालय बाराका प्रमुख मन्जुर अहमदले भन्नुभयो। समन्वय समिति सभापति नवलकिशोर सिंह, कोहल्वी नगरपालिकाका नगरप्रमुख भरतबहादुर भण्डारी, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, खानेपानी कार्यालयका प्रतिनिधि र डिभिजन वन कार्यालयका प्रमुखसहितको टोलीले बाराको दुधौरा र बकैया खोलाको अनुगमन गरेको थियो।

बालुवा गिटीका ठेकेदारले खोला बगरमा ठूला ठूला खाल्डा बनाएर उत्खनन गर्दै आएका छन्। यसअघि जिल्ला समन्वय समितिले बालगंगा र पसाहा खोलामा मापदण्डविपरीत खोला ‘च्यानलाइज’ नाममा चारैतिरको वन क्षेत्रलाई हानि पुग्ने गरी उत्खनन गरेको भन्दै रोक्न निर्देशन दिएको थियो।

बारा जिल्लाअन्तर्गत हाल दुधौरा, बालगंगा, बकैया र पसाहा खोलामा उत्खनन तीव्र छ। जसमध्ये दुधौरा र बालगंगामा जितपुर सिमरा उपमहानगर र बकैया खोलामा भने कोहल्वी र निजगढ नगरपालिकाले ठेक्कामार्फत उत्खनन गर्दै आएका छन्। निजगढ नगरपालिकाले चुरेबाट निस्कने धन्सार खोलामा पनि ढुङ्गा, गिटी बालुवाको ठेक्का लगाएको थियो।

तर ठेक्का प्रकिया नमिलेको भन्दै अदालतमा रिट परेपछि निजगढ नगरपालिकाले आपूmमातहतका खोलामा अमानतमा उत्खनन गर्दै आएको छ। त्यसै गरी कोहल्वी नगरपालिकाको लालबकैया खोलामा पनि मापदण्ड विपरीत उत्खनन भएको भन्दै नगर प्रमुख भण्डारीले नै ३ दिनदेखि खोलाबाट उत्खनन रोक लगाउनुभएको छ।

जीतपुरसिमरा उपमहानगरले भने आफूमातहत रहेका खोलाको हालसम्मको उत्खननको मात्रा, भण्डारण बेचबिखनको परिमाणबारे कुनै जानकारी राखेको छैन। यसले गर्दा ठेकेदारलाई वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) प्रतिवेदनविपरीत उत्खनन गर्न सजिलो भएको छ।

प्रतिक्रिया दिनुहोस्