भ्रष्टाचारमा भित्ते प्रतिबद्धता



‘म भ्रष्टाचार गर्दिनँ’ भन्ने वाक्य प्रायः सरकारी कार्यालयका भित्तामा टाँस्ने गरिएको भए पनि यसले खासै प्रभाव पारेको देखिँदैन । ट्रान्सपरेन्सी इन्टरनेसनल, नेपालले सार्वजनिक गरेको तथ्याङ्कले नेपालमा भ्रष्टाचार व्याप्त छ भन्ने देखाएका कारण ‘भ्रष्टाचार नगर्ने’ भनी घोषणा गरिएको भित्तेलेखनले खासै प्रभाव नपारेको भन्नैपर्ने हुन्छ ।

वर्तमान सरकार गठन भएयता प्रायः सरकारी कार्यालयहरूमा भ्रष्टाचारविरोधी शब्दहरू टाँस्नुपर्ने उर्दी नै जारी गरिएको थियो । यस्ता शब्द सरकारी कार्यालयका भित्तामा टाँसिएका देख्दा सेवाग्राही शुरू–शुरूमा खुसी हुने गरेका भए पनि सरकारी कार्यालयको पारा उस्तै हुने गरेपछि उनीहरूले यसमा विश्वास गर्न सकिरहेका छैनन् ।

भ्रष्टाचार चाकडी, चाप्लुसी र पक्षपातपूर्ण व्यवहारबाट शुरुआत भएको देखिन्छ । धार्मिक ग्रन्थ शिवपुराण हेर्दा विश्व परिक्रमा गर्ने कार्तिकेयलाई उछिन्न बाबुआमा शिवपार्वतीको परिक्रमा लगाउने गणेशजीको व्यवहारलाई पनि भ्रष्टाचारको एक स्वरूपमा रूपमा लिइन्छ ।

आधुनिक अभ्यासमा इजिप्सेली सभ्यतादेखि भ्रष्टाचारका घटना अभिलेखीकृत भएको समाजशास्त्रीहरू उल्लेख गर्दछन् । नेपालको सन्दर्भमा ‘घूस लिन्या र दिन्या मुलुकका शत्रु हुन्’ भन्ने पृथ्वीनारायण काल नै कम भ्रष्टाचारको समय हुनुपर्छ । तर, आदिकवि भानुभक्त आचार्य कालमा डिठ्ठाले तारिकमा झुलाएर भ्रष्टाचार शुरू गरिसकेका छन् ।

आज आएर सरकारले भ्रष्टाचारविरोधी जति कुरा गरेको छ, सो बमोजिम पटक्कै काम हुन सकेको छैन । सार्वजनिक निकायमा भ्रष्टाचार हुन नदिने वातावरण सरकारले तय गर्ने हो । यदि भइहालेमा त्यसमा छानबिन गरी मुद्दा दायर गर्ने निकाय भनेको अख्तियार दुरूपयोग अनुसन्धान आयोग हो ।

सरकारले भ्रष्टाचार न्यूनीकरण हुने वातावरण तय गरेको छैन । बोली र भित्तेलेखनले मात्र हुने भए ट्रान्सपरेन्सीले ‘नेपालको राजनीतिमा पैसाको प्रभाव परिरहेको’ भन्ने भनाइ किन बाहिर ल्याउँथ्यो र ? सानातिना घूस मुद्दाले मात्र भ्रष्टाचार हट्ने भए नेपालमा अझै पनि भ्रष्टाचार व्याप्त भएको भनी किन समाचार बन्थे र ?

५० अंक ल्याउँदा पास हुनेमा ट्रान्सपरेन्सीको प्रतिवेदनले नेपालले जम्मा ३४ अंक मात्र प्राप्त गरेको भनी उल्लेख गरेको छ । यो अंकले भ्रष्टाचारको मामलामा पास हुन नेपालले चानचुने मिहिनेत गरेर पुग्दैन भन्ने स्पष्ट भएको छ ।

नेपालले भ्रष्टाचारबाट मुक्ति पाउने विषयमा पास हुन सबैभन्दा पहिले राजनीतिमा पैसाको प्रभाव हुने कुरालाई निमिट्यान्न पार्नुपर्छ । राजनीतिमा शुद्धीकरण भयो भने अन्य क्षेत्र विस्तारै आफैं ठीक हुनेछन् । यसबाहेक सार्वजनिक क्षेत्रमा अधिकारको दुरूपयोग भए/नभएको अनुगमन गर्ने प्रणालीलाई चुस्त र दुरुस्त गर्न सक्नुपर्छ ।

यसै गरी आयोगलाई आफ्नो अनुकूलको व्यक्ति भर्ना गर्ने परम्परालाई तोड्नुपर्छ । भ्रष्टाचारमा लिप्त भएकाहरूले आयोगको पदाधिकारीमा आफ्ना मान्छेलाई पार्न पैसाको चलखेल गर्ने गरेका यसअघि सार्वजनिक भएकै हो ।

यस्ता कार्यलाई निरुत्साहित गर्न सकेमा भित्तेलेखनको जरुरत नै पर्ने थिएन । यी र यस्ता अन्य विषयलाई ध्यान दिन सकेको खण्डमा नेपाल आगामी वर्ष भ्रष्टाचारको मामिलामा पास हुन अर्थात् ५० अंकको नजिक पुग्न सक्छ भन्ने विश्वास लिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्