प्रदेश सांसद दीपक मनाङे पक्राउ



विजय नेपाली, पोखरा। 

गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)लाई कास्की प्रहरीले पक्राउ गरेको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङलाई मंगलबार मनाङेले हातपात गरेपछि अध्यक्ष गुरुङले प्रदेशसभा सदस्य दीपक मनाङेविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा बुधबार जाहेरी दिनुभएको थियो।

जिल्ला प्रशासन कार्यालय कास्कीले पक्राउ पुर्जी जारी गरेलगत्तै दीपक मनाङेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी राजकुमार केसीले जानकारी दिनुभयो।

प्रदेशसभा सदस्य दीपक मनाङेलाई पोखरा ६ लेकसाइडमा रहेको होटल प्याराडाइज इनबाट दिउँसो पक्राउ गरेको हो। दीपक मनाङेसँग घटनाको विषयमा समान्य सोधपुछ बिहीबार नै प्रहरीले गरेको छ।

बिहीबार समय अभावका कारण शुक्रबार म्याद थप गरेर अनुसन्धान अघि बढाउने केसीले जानकारी दिनुभयो।

यस विषयमा प्रदेशसभाको अध्यक्षलाई र दीपक मनाङे घर परिवारलाई जानकारी दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिनुभयो।

मुलुकी फैजदारी संहिता २०७४ को दफा ११८ को कसुरमा कारबाही माग गरिएको छ। उक्त व्यवस्थाअनुसार दोषी ठहरिएमा १ वर्षसम्म कैद सजाय वा १० हजार रुपियाँ जरिवाना वा दुवै सजाय हुनेछ।

बिहीबार बिहान १० बज्न नपाउँदै कास्की प्रहरी जिल्ला प्रशासन कार्यालय कास्कीमा दीपक मनाङेलाई पक्राउ पुर्जी लिनका लागि गएको थियो। जिल्ला प्रशासन कार्यालय कास्कीले दिउँसो साढे ३ बजे मात्र पक्राउ गर्ने अनुमती दिएको थियो।

पक्राउ गर्ने अनुमती दिएको आधा घण्टाभित्र कास्की प्रहरीले मनाङेलाई पक्राउ गरेको हो। पक्राउ परेपछि राजीवले गल्ती नगरेकोलाई नियन्त्रणमा लिएको बताउनुभएको छ। गल्ती नगरी पक्राउ पर्नुको कारण नेपालको कानुन यस्तो रहेको बताउनुभयो।

‘पहिला अनुसन्धान गरेर पक्राउ गर्नुपर्ने हो’, मनाङेले भन्नुभयो। ‘विदेशमा पक्राउ गरेर अनुसन्धान गरिन्छ नेपाल विदेशमा जस्तो हुँदैन’ –उहाँले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्