नगरका १ सय ८२ जनालाई न्यानो कपडा वितरण



विमल विष्ट, डोटी।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा डोटी चेम्बर अफ कमर्सका अध्यक्ष खेगेन्द्रबहादुर साउद (केवी) ले जिल्लामा चिसो बढेपछि यहाँका बृद्ध, एकल, अपांगता तथा असहाय नागरिकलाई न्यानो लुगा वितरण गर्नुभएको छ।

दिपायल सिलगढी नगरपालिका–३ को वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी उहाँले वडा नं १, २, ३ र ४ मा रहेका १८२ बृद्ध, एकल, अपांग तथा असहायलाई न्यानो लुगा वितरण गर्नुभएको हो।

नगरपालिकाका सबै वडामा रहेका बृद्ध, एकल, अपांगता तथा असहाय नागरिकलाई न्यानो लुगा वितरण गर्ने योजनाअनुसार आफूले उक्त अभियान सञ्चालन गरेको नेकपा प्रदेश कमिटी सदस्य तथा चेम्बर अफ कमर्सका अध्यक्ष खेगेन्द्रबहादुर साउद (केवी) ले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘चिसोबाट जोगाउन मैले न्यानो लुगा वितरण अभियान सञ्चालन गर्दै आएको छु, नगरपालिकाका सबै वडामा उक्त अभियान सुचारु गरिने छ।’ त्यसैगरी उहाँले नगरपालिकाभित्रका सामुदायिकतर्फका सबै विद्यालयका रु १ लाखको विद्यार्थी अक्षय कोषसमेत स्थापना गर्नुभएको छ।

आर्थिक अवस्था कमजोर भएर पढ्न समस्या भएका विद्यार्थीका लागि सहुलियत होस् भन्ने उद्देश्यले उहाँले आफूले उक्त कोषको स्थापना गरेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘मैले पढ्न नसक्ने अवस्था भएका ३ जना बालबालिकाको अभिभावकत्व लिएको पनि छु, आर्थिक अभावमा कसैको पनि पढाइ नछुटोस् भन्ने मेरो सोचाइ हो।’

उहाँले यसअघि दिपायलको सेती नदीमा भ्यु टावर तथा जिल्लाका विभिन्न विद्यालयमा ह्वाइट बोर्ड तथा विद्यार्थीलाई झोलासमेत वितरण गर्दै आउनुभएको छ। आफ्नो व्यक्तिगत लगानीमा नगरपालिकामा रहेका वृद्ध, एकल, अपांगता तथा असहाय नागरिक लाई न्यानो लुगा वितरण गर्ने साउद पहिलो व्यक्ति हुन्।

उक्त कार्यक्रममा चेम्बर अफ कमर्सका सदस्य तथा विष्ट कस्मेटिक तथा फेन्सिका व्यापारी रामबहादुर विष्टले न्यानो लुगा लिन आएका १ सय ८२ जनालाई कोल्गेट तथा ब्रस वितरण गर्नुभएको थियो।

चिसोबाट बच्नका लागि प्रदान गरिएको न्यानो लुगा पाएपछि आफूहरूलाई निकै खुसी र राहत मिलेको दिपायल सिलगढी नगरपालिका वडा नं ४ कुमालीकोटकी ६० वर्षीया गौरी कठायतले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘चिसोमा उड्ने लुगा थिएन, आज पाए न्यानो हुने भयो, खुसी भएकी छु। साउदले कम्बल तथा बलाङ्केटहरू वितरण गर्नुभएको थियो। विगत ७ वर्ष यतादेखि चिसो समयमा उहाँले यहाँका जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण गर्दै आउनुभएको छ।

त्यसैगरी नगरपालिकाका अन्य वडाहरूमा रहेका बृद्ध, एकल, अपांगता तथा असहाय नागरिकलाई निकट भविष्यमै न्यानो लुगा वितरण गरिनेसमेत साउदले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्