‘संघीयता हेर्न महाभारत जानुस् : पूर्वगृहमन्त्री



मोतीराम तिमल्सिना, महाभारत, काभ्रे।

केही वर्षअघि विकट क्षेत्रका रुपमा चिनिएको जिल्लाको डाँडापारि स्थित महाभारत गाउँपालिका सुगम हुँदै साक्षर घोषणा भएको छ।

सडक, भौतिक पूर्वाधार, विद्युत्तिकरण, इलाका प्रशासन, नागरिकलाई सेवा प्रदान र विकासको गतिसँगै महाभारत गाउँपालिका समृद्ध बन्ने अभियानमा लम्किएको छ।

महाभारत गाउँपालिकालाई साक्षर घोषणा गर्दै पूर्व गृह तथा उर्जा मन्त्री जनार्दन शर्माले ग्रामीण भेगको विकासको मोडल बदल्न सुझाव दिनुभयो।

‘उपभोक्ता समिति खारेज गरिनुपर्छ, उपभोक्ता समितिले गर्ने काम विकास सहकारी गठन गरी शुरु गर्नुपर्छ’,शर्माले भन्नुभयो– ‘श्रम सहकारीको मोडलमा गरिएको विकास दिगो र स्थायी मात्रै हुँदैन, अनियमिततासमेत रोक्न सकिन्छ।’

स्थानीय तहमा भ्रष्टाचार मौलाएका समाचार बाहिर आए पनि त्यसलाई सुधार्दै संघीयताको अभ्यास र स्वाद जनतालाई घर दैलोमै पुगेर दिने सेवाबाट प्रभावकारी बनाउनुपर्ने बताउनुभयो।

‘महाभारत गाउँपालिकाका सबै वडाहरूमा सडक सञ्जाल पुगेको छ, सदरमुकामबाट गाउँपालिका केन्द्रसम्म पुग्ने सडक खुलेको छ, भौतिक पूर्वाधारले सम्पन्न हुँदै छ’ –नेकपा नेता शर्माले भन्नुभयो– ‘संघीयताको मोडल हेर्न महाभारत जानुस् भन्ने अवस्था सिर्जना भएको छ।’

नेता शर्माले जनप्रतिनिधिलाई जनताको शासक नभई सेवक भएर काम गर्न अनुरोध गर्दै जनतासँगको सम्बन्ध स्थापित गर्न र सरकारका सेवालाई अझै प्रभावकारी बनाउन सुझाव दिनुभयो।

विकट क्षेत्र महाभारतलाई नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले २०७४ को निर्वाचनपछि सुगमतातर्फ लैजान विद्युत्तिकरणलगायतका महत्वपूर्ण योजनामा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

सोही प्रतिबद्धताअनुसार महाभारत र खानिखोलामा विद्युत्तिकरणको कार्य शुरु भएको छ। सडक सञ्जाल जोडिएको छ भने पूर्वाधारका लागि अघिल्लो आर्थिक वर्षमा विशेष अनुदानको व्यवस्थापन गरी पूर्वाधारको कार्य शुरु भएको छ।

गाउँपालिकाका नागरिकलाई विकाससँगै आय आर्जन बृद्धि गर्ने खालका कार्यक्रमहरू सञ्चालन गर्न नेता शर्माले अनुरोध गर्दै शिक्षामा लगानी बढाउँदा मात्रै समृद्ध महाभारत निर्माण हुने भएकाले लगानीलाई अझै मजबुत र पारदर्शी बनाउन जोड दिनुभयो।

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले गाउँपालिकाले भोगिरहेका विविध समस्याहरूका बारेमा अवगत गराउनुभएको थियो।

निर्वाचित भएसँगै स्थानीय क्षेत्रको विकासका लागि निरन्तर सक्रिय रहेको बताउँदै अध्यक्ष जिम्बाले सडकको स्तरोन्नति र आयआर्जनमूलक कार्यका लागि योजना बनाउने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्