बागमती प्रदेशमा वैशाखदेखि बिजुली बस



नेपाल समाचारपत्र, हेटौंडा।

बागमती प्रदेश सरकारले अब आफैं बिजुली बस चलाउने भएको छ। यसका लागि प्रदेश सरकारले साझा यातायातसँगको सम्झौता तोडेको छ। असार १६ गते प्रदेश सरकार, काठमाडौं र ललितपुर महानगर र साझा यातायातबीच काठमाडौं उपत्यकामा बिजुली बस सञ्चालन गर्ने सहमति भएको थियो।

२०७७ वैशाख १ गतेदेखि बिजुली बस चलाउने गरी प्रदेश सरकारले काम गरिरहेको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिनुभएको छ। मुख्यमन्त्रीको कार्यालय हेटौंडामा स्थानीय तहका प्रमुख र उपप्रमुखहरूसँग बिजुली बस सञ्चालन सम्बन्धमा आयोजना गरिएको बैठकमा उहाँले यस्तो जानकारी गराउनुभएको हो।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्नुभएका मुख्यमन्त्री पौडेलले सानो संख्यामा भए पनि बिजुली बस नयाँ वर्षमा चल्ने गरी काम भइरहेको बताउनुभयो। प्रदेश सरकारको नीति तथा कार्यक्रममा २०८५ सालसम्म पेट्रोलिय पदार्थबाट चल्ने सवारीसाधन विस्थापित गर्ने नीति लिइएको छ।

सरकारले साझा यातायातलाई बिजुली बस खरिद प्रक्रिया रोक्न निर्देशन दिएपछि प्रदेश सरकारले पनि हात झिकेको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पत्र लेख्दै साझालाई बिजुली बस खरिद प्रक्रिया अघि नबढाउन निर्देशन दिएको थियो।

एक वर्षअघि नै सरकारले ३ सय बिजुली बस किन्ने निर्णय गरेको थियो। असारमा साझा यातायातलाई यसको जिम्मा दिइए पनि प्रक्रिया अघि बढेपछि सरकारले उक्त कार्य रोकेको आरोप साझाले लगाएको छ।

सरकारले बिजुली बस किन्न साउनमा एकैपटक ३ अर्ब रुपियाँ साझालाई उपलब्ध गराएको थियो। बिजुली बसकै लागि बागमती प्रदेश सरकारले ३० करोड, काठमाडौं महानगरपालिकाले १० करोड, ललितपुर महानगर र स्वयम् साझाले समान साढे २ करोड हालेर ४५ करोड जम्मा गरिएको छ।

बिजुली बस चलाउन साझासँग केन्द्रसँगै प्रदेश र स्थानीय सरकारले सहकार्य गरेका थिए।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत् यही महिनाभित्र बस खरिद प्रक्रिया अगाडि बढाइनेछ। बससेवा सञ्चालनका लागि पाँच ठाउँमा चार्जिङ स्टेसन निर्माण गरिने उहाँले बताउनुभयो।

बिजुली बस चार्ज गर्न हेटौंडा, चितवन, काठमाडौं र धुलिखेल बसपार्क तथा काठमाडौं र मुग्लिङबीच स्टेसन बनाउने योजना रहेको उहाँले सुनाउनुभयो। स्टेसन निर्माणका लागि गजुरी र गल्छी गाउँपालिका क्षेत्रमा स्थान खोज्न स्थानीय तहका नेतृत्वलाई जिम्मा दिइएको उहाँले बताउनुभयो।

प्रदेश सरकारको नेतृत्वमा काठमाडौंबाट प्रदेशको राजधानी हेटौंडासम्म चल्ने गरी बिजुली बसको रुट बनाउने र उक्त रुटमा चार्जिङ स्टेसन बनाउन स्थानीय तहसँग समन्वय गर्ने गरी बैठक आयोजना भएको हो।

बैठकमा धादिङको गजुरी गाउँपालिका उपाध्यक्ष सीता ढुंगानाले राजमार्गसँग जोडिएको र काठमाडौं र हेटौंडाको बीचमा पर्ने ३ सय रोपनी जग्गा चार्जिङ सेन्टर बनाउन उपलब्ध गराउन सकिने जानकारी गराउनुभयो भने गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठले जग्गा उपलब्ध गराउन सकिने जानकारी गराउनुभयो।

बिजुली बस सञ्चालन गर्न चार्जिङ स्टेसनका लागि साझाले नेपाल विद्युत् प्राधिकरणसँग छलफल गरेको थियो। प्राधिकरणले चार्जिङका लागि आवश्यक व्यवस्था गर्ने विश्वास दिलाएको थियो।

प्रतिक्रिया दिनुहोस्