डोटीमा दुई हप्तामा भत्काइए ८८ छाउगोठ



विमल विष्ट, डोटी।

डोटी जिल्लामा दुई हप्तादेखि सञ्चालन भएको छाउपडी गोठ भत्काउने अभियानअन्र्तगत हालसम्म ८८ वटा छाउपडी गोठहरू भत्काइएका छन्।जिल्लाको तीनवटा गाउँपालिकामा मात्रै यति ठूलो संङ्ख्यामा छाउपडी गोठ भत्काइएको हो।

जिल्लाको बडीकेदार गाउँपालिकाको वडा नं ३ को सिदुरेपानीमा२८, वडा नं १ र २ को बिपिनगर, बर्छैन, अलाडी र बिठारा गाउँमा ४३, जोरायल गाउँपालिका ५ धुपारी गाउँमा ३ तथा पूर्वीचौकी गाउँपालिका ५ को काडामाण्डौंमा १४ गरी ८८ वटा छाउगोठ भत्काएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिनुभयो।

जिल्लाका नौ स्थानीय तहमा प्रहरीको सक्रियता र जनप्रतिनिधिको रोहवरमा छाउपडी गोठ भत्काउने क्रम जारी रहेको छ। प्रहरीले छाउ गोठ भए नभएको अवस्थाका बारेमा समेत अनुगमनसमेत गरिरहेको छ।

अनुगमनका क्रममा यी दुई गाउँपालिकामा मात्रै १ सय १३ वटा छाउपडी गोठ रहेको भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। अनुगमनमा भेटिएका छाउगोठहरू भत्काउने अभियान जारी रहेको प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘गाउँपालिकाबाट छाउपडी गोठ भत्काउने अभियान शुरु गरेका छौँ, भेटिएका जति सबै छाउगोठ भत्काउदै जानेछौँ।’ छाउगोठ भत्काउनका लागि विभिन्न ठाउँमा प्रहरी परिचालन गरिएको छ।

छाउगोठ भत्काउन परिचालन भएका प्रहरीले गोठको बारेमा सम्बन्धित निकायमा जानकारी दिएर भत्काउन थालेको छ।
प्रहरीले सञ्चालन गरेको उक्त अभियानमा यहाँका स्थानीय, जनप्रतिनिधि तथा विभिन्न संघ संस्थाहरूको सहभागिता रहँदै आएको छ।

जिल्लामा भएका छाउपडी गोठ भत्काउने अभियानलाई सफल पार्नका लागि स्थानीय निकायसँगको समन्वयमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो।

उहाँले भन्नुभयो–‘छाउगोठ कहाँ कहाँ कति छन् गोप्य रुपमा सूचना लिएर त्यसैका आधारमा गोठ भत्काउन प्रहरी टोली परिचालन गर्ने गरेका छौँ, अब छाउगोठ बनाउनेलाई कारबाही गर्छु।’

डोटी जिल्लालाई आगामी फागुन महिनाभित्र छाउपडी गोठमुक्त जिल्ला घोषणा गर्ने गरी छाउपडी गोठ भत्काउने अभियानलाई तीव्र पारिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो।

जिल्ला प्रशासन कार्यालय डोटीको आयोजनामा हालै सम्पन्न छाउपडी प्रथा उन्मूलन संयन्त्रको बैठकमा सहभागी जिल्लाका जनप्रतिनिधिले जिल्लालाई फागुन मसान्तसम्म प्रभावकारी रूपमा छाउपडी गोठमुक्त घोषणा गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।

छाउपडी गोठ भत्काउने विषयलाई बेवास्ता गरे स्थानीय तहबाट दिइने सम्पूर्ण सेवा सुविधाबाट वञ्चित गर्नेसहित कानुनअनुसार कारबाही गरिने जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘छाउपडी कुप्रथाले समग्र सुदूरपश्चिमकै शीर निहुरिने गरेको छ, छाउपडी गोठ बनाउनेका विरुद्ध सशक्त रुपमा उत्रिनेछौँ।’

जिल्लामा छाउ भएकी महिलालाई घरमा राखे अनिष्ट हुन्छ र देउता रिसाउँछन् भन्ने अन्धविस्वासका साथ महिनावारी अर्थात् छाउ भएकी महिलाका लागि बस्ने छुट्टै कटेरो बनाउने चलन रहेको छ।

प्रतिक्रिया दिनुहोस्