सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्न वडाध्यक्षको सिफारिस



गोकुल घोरसाइने, बारा।

बाराको जितपुरसिमरा उपमहानगरपालिका–१० का अध्यक्ष सरोजकुमार राउतले सार्वजनिक जग्गाको किर्ते पुर्जा बनाएर व्यक्तिको नाममा कायम गर्न मालपोत कार्यालय कलैयालाई पत्र पठाएको भेटिएको छ।

वडाध्यक्ष राउतले फिल्ड बुकमा पैनी र नहर भनी उल्लेख भएको सार्वजनिक जग्गा सोही वडाका स्थानीय मोतीलाल साह तेलीको नाममा कायम गर्न कलैया मालपोतलाई सिफारिसपत्र पठाएको पाइएको छ।

वडाध्यक्ष राउतले फिल्ड बुकमा पैनी र नहर भनी उल्लेख भएको सार्वजनिक जग्गा सोही वडाका स्थानीय मोतीलाल साह तेलीको नाममा कायम गर्न कलैया मालपोतलाई सिफारिसपत्र पठाएको पाइएको छ।

साविक रामपुर टोकनी– १ हाल जितपुरसिमरा १० को कित्ता नं १८७ को १७ कठ्ठा र कित्ता १८८ को १९ कठ्ठा सार्वजनिक जग्गा तेलीको नाममा कायम गर्न सिफारिस गरिएको पत्रमा उल्लेख छ।डेढ वर्षअघि नै गरिएको सो जग्गाको सिफारिस हाल अनुसन्धानको क्रममा पत्ता लागेको हो।

सार्वजनिक जग्गासँगै जोडिएको कित्ता नं ११३, ४४, ६८ र ९७ को जग्गाको स्रेस्ता पुर्जा तेलीको नाममा रहेको छ भने सोही कित्तासँग जोडिएको १८७, १८८ को १५ कट्टा १३ धुर जग्गा मालपोत कार्यालय बाराको फिल्ड बुकमा नहर भनी उल्लेख छ।

फिल्डबुकमा नहर भनी उल्लेख भएको जग्गा पनि तेलीले आफ्नो जग्गासँगै गाभेर भोगचलन गर्दै आएका थिए। वडाध्यक्ष राउतले कलैया मालपोत कार्यालयलाई गरेको सिफारिस अनुसार तेलीको नाममा पुर्जा भने बनिसकेको छैन।

सार्वजनिक जग्गा व्यक्तिको नाममा कायम गर्न सिफारिस दिएको भन्दै वडाध्यक्ष राउतविरुद्ध कारबाहीको मागसहित स्थानीय केहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उजुरीसमेत दिएका छन्।

वडाध्यक्ष राउतले भने विपक्षीले हरेक काममा भाँजो हाल्ने गरेको र सानो विषयमा पनि अख्तियारमा उजुरी हालेको बताउनुभयो। ‘भोगचल गर्दै आएको आधारमा सिफारिसको लागि दवाब दिए, उहाँले भन्नुभयो– ‘मैले सोहीअनुसार दर्ताको लागि सिफारिस दिएको हुँ।’

राउत राष्ट्रिय जनता पार्टी (राजपा) कातर्फबाट विजयी वडाध्यक्ष हुन। जीतपुर सिमरा उपमहानगरपालिका नगरप्रमुख डा. कृष्ण पौडेलले वडाध्यक्षले सार्वजनिक जग्गा व्यक्तिको नामका कायम गर्न सिफारिस गरेको सम्बन्धमा छानबिन भइरहेको बताउनुभयो।

‘सार्वजनिक जग्गा व्यक्तिको नाममा कायम गर्ने सम्बन्धमा वडाध्यक्षले गरेको सिफारिसको सूचना ढिलोगरी आयो तैपनि हामीले छानबिन गरिरहेका छौं’ –नगरप्रमुख पौडेलले भन्नुभयो।

यसअघि जितपुरसिमरा २३ का वडाध्यक्ष अस्लम देवनले पनि २० बिगाहा सार्वजनिक जग्गा प्रदुम्नराज पाण्डेको नाममा कायम गर्न मालपोत कार्यालय सिमरालाई सिफारिस गरेका थिए।

हाल वडाध्यक्ष देवनविरुद्ध पनि कारबाहीको मागसहित अख्तियारमा परेको उजुरीमा आयोगले विस्तृत अनुसन्धान गरिरहेको आयोगले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्