प्रदेश १ मा थपिए चार राज्यमन्त्री



नेपाल समाचारपत्र, विराटनगर।

प्रदेश एकको सरकारले मन्त्रिपरिषद् बिस्तार गरेको छ। ५ सदस्यीय मन्त्रिपरिषद् रहेको प्रदेश सरकारमा ४ जना राज्यमन्त्री थप गरिएका छन्।

थप गरिएका राज्यमन्त्रीमा रामबहादुर थापा मगर भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधार विकास मन्त्रालय, जसमाया गजमेर सामाजिक विकास मन्त्रालय र विजयकुमार विश्वासलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त गरिएको छ।

नवनियुक्त राज्यमन्त्रीहरूलाई प्रदेश प्रमुखको कार्यालयमा आइतबार आयोजित कार्यक्रमका बीच सपथ ग्रहण गराइएको थियो। प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीको उपस्थितिमा मुख्यमन्त्री शेरधन राईले नवनियुक्त राज्यमन्त्रीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभयो।

सपथ ग्रहण समारोहमा प्रदेश एकका सभामुख प्रदीपकुमार भण्डारीसहित मन्त्रीहरू सुरक्षा निकायका प्रमुखसहित विभिन्न मन्त्रालयका सचिवहरूको उपस्थिति थियो।

सपथ ग्रहण समारोहलगत्तै नवनियुक्त राज्यमन्त्रीलाई फुलमाला, अबिर र खादासहित स्वागत गरिएको थियो।मुख्यमन्त्री राईले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम उहाँहरूलाई नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेपछि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले उहाँहरूलाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

हाल प्रदेश एकमा मुख्यमन्त्री राईसहित आन्तरिक मामिला तथा कानुन मन्त्रिमा हिक्मत कार्की, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा जगदिशप्रसाद कुसियत, सामाजिक विकास मन्त्रालयमा जीवन घिमिरे र आर्थिक मामिला तथा योजना मन्त्रालयमा इन्द्र आङ्बोले मन्त्रीको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ।

मुख्यमन्त्री शेरधन राईले भौतिक योजना तथा पुर्वाधार विकास र भूमि, कृषि तथा सहकारी मन्त्रालय आफैं हेर्दै आउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्