राजधानी र नाम तोक्ने काममा ढिलाइ नगर्न आग्रह



यमलाल भुसाल, बुटवल।

प्रदेशको राजधानी र नाम तोक्ने काममा ढिलाइ नगर्न प्रदेश सभाका सदस्यहरूले सभाको ध्यानाकर्षण गराएका छन्।आइतबारदेखि शुरु भएको प्रदेश नम्बर ५ प्रदेशसभाको पाँचांै अधिवेशनमा शुरुमै बोल्ने प्रदेश सदस्यहरूले यो अधिवेशनले प्रदेशको राजधानी र नाम टुङ्गो लगाउनुपर्नेमा जोड दिएका छन्।

प्रदेशसभाका सदस्यहरूले प्रदेश ५ का नेपाली कांग्रेसका संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन्। यसैगरी उपनिर्वाचनबाट प्रदेशसभाको सदस्यमा दाङबाट निर्वाचित बिमला ओलीलाई स्वागतसमेत गरेका छन्।

प्रदेशसभामा बोल्दै राष्ट्रिय जनमोर्चाको तर्फबाट प्रदेशसभा सदस्य तारा जिसीले अहिले तीव्र विवादका रूपमा देखापरेको एमसीसी खारेज गर्नुपर्ने बताउनुभयो। उहाँले एमसीसी देश र जनताको हितमा नरहेकाले यसको विरोध गर्नुपर्ने बताउनुभयो।

समाजवादी पार्टीका सांसद सन्तोष पाण्डेले प्रदेशका जनता अझैपनि गरिबी र भोकमरीबाट आक्रान्त रहेकाले मुख्यमन्त्री खाद्य योजना समिति बनाउन माग गर्नुभयो।

निजी क्षेत्रले नै अहिले २०–२५ रुपियाँमा गरिब जनतालाई खाना खुवाइरहेकाले प्रदेश सरकारले पनि कल्याणकारी कार्यक्रममार्फत गरिब जनतालाई भोजनको व्यवस्था गर्न माग गर्नुभयो।

उहाँले प्रदेशको नाम र राजधानीको विषय अहिले सबैको चासो र चिन्ताको विषय भएकाले यसको टुंगो यही अधिवेशनले लगाउनुपर्नेमा जोड दिनुभयो।

नेपाली कांग्रेसका फकरुद्दीन खानले जनताको गुनासो सुन्ने प्रतिनिधिहरूले प्रदेश सभामार्फत नै सरकारको ध्यानाकर्षण गराउने भएकाले लामो समयसम्म प्रदेशसभाको अधिवेशन नगराउनु राम्रो नहुने बताउनुभयो।

नेपाली कांग्रेसकी निर्मला क्षेत्रीले जनताको मर्म र भावनाअनुसार अब प्रदेशको राजधानी र नाम तोक्ने काममा ढिलाइ नगर्न प्रदेश सभाको ध्यानाकर्षण गराउनुभयो।

नेकपाका दिपेश थारुले जनताले अनुभूति पाउने गरी प्रदेशसभाले अब प्रदेशको राजधानी र नाम पाउने विश्वास व्यक्त गर्दैयही अधिवेशनले नै यसको टुंगो लगाउनुपर्ने धारणा राख्नुभयो।

नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेशसभामा विशेष समितिले प्रतिवेदन बुझाइसकेकाले अब प्रदेशको राजधानी र नामका विषयमा छलफल गर्नुपर्ने भन्दै यही अधिवेशनबाटै त्यसको टुंगो लगाउन प्रदेशसभाका सबै सदस्यहरूलाई आग्रह गर्नुभयो।

उहाँले प्रदेशसभाका सदस्यहरूबीचमै छलफल गरी विशेष समितिले बुझाएको प्रतिवेदनले दिएको सुझावलाई समेत मध्यनजर राख्दै छलफलबाटै राजधानी र नाम टुंगो लगाउनुपर्ने धारणा राख्नुभयो।

उहाँले सहमति र संवादकै माध्यमबाट विगतमा पनि प्रदेशसभा अघि बढेको र अब पनि प्रदेशसभालाई सहमति र संवादकै थलोका रूपमा अघि बढाउन सत्ता र प्रतिपक्ष नभनी अघि बढ्नु जरुरी रहेकोमा जोड दिनुभयो।

त्यसअघि प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेशसभाको बैठक आह्वानसम्बन्धी पत्र सभामुखले पढेर सुनाउनुभएको थियो भने चौथो अधिवेशनबाट पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरण भई आएको प्रदेश नंम्बर ५ प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी पत्र सभामुखले पढेर सुनाउनुभएको थियो। प्रदेशसभाको अर्को बैठक माघ १२ गते बस्ने भएको छ।

 

प्रतिक्रिया दिनुहोस्