बेदिङमा ८० घर, ८० आरोही



चिरञ्जीवी मास्के, दोलखा।

दोलखाको गौरीशङ्कर गाउँपालिका ९ मा एउटा सुन्दर हिमाली गाउँ छ ‘बेदिङ’। हिम आरोहीको गाउँले परिचित ८० घर रहेको बेदिङका ८० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेका छन्।

चारपटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएका बेदिङका फुर्वा ठिले शेर्पा झण्डै चार सय जनसंख्या रहेको बेदीङका युवा तथा पौढहरूको मुख्य पेसा आरोहीको गाइड भएकोले सोही क्रममा ८० जनाले सर्वोच्च शिखरको सफल आरोहणसमेत गरिसकेको बताउनुहुन्छ।

बेदिङका मिङमा छिरी शेर्पाले १९ पटक सर्वोच्च शिखर सगरमाथाको आरोहण गरिसक्नुभएको छ भने आफूसहित पेम्बा गेल्जिङ शेर्पा, निमा गुम्बा शेर्पालगायतले चारपटक भन्दा बढी सर्वोच्च शिखर सगरमाथाको आरोहण गरिसकेको फुर्वाले बताउनुभयो।

फुर्वाको ११ जनाको परिवारमा दाजु पेम्बा गेल्जेङ, दिदी दावाढिकी शेर्पालगायत ७ जनाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसक्नुभएको छ।बेदिङका तीन जना महिलाहरू दावाढिकी, दावायाङजुङ र निमा जाङमुले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको फुर्वाको भनाइ छ।

३८ सय मिटरको उचाइमा रहेको बेदिङमा पुसदेखि फागुनसम्म सबै घरहरू हिउँले ढाकिने भएकाले बसाइ निक्कै कष्टपूर्ण हुन्छ। गर्मी मौसममा ४२ सय मिटर उचाइमा रहेको ना गाउँमा बस्ने बेदिङबासी हिमपातको मौसममा बेदिङ झर्ने गर्छन्।

ना र बेदिङबाहेक बस्ने अन्यत्र घर जग्गा नभएकाले हिमपातको मौसममा ना भन्दा कम उचाइको बेदिङमा हिउँसँग लुकामारी गर्नुकोविकल्प नभएको आरोही फुर्वा ठिलेको भनाइ छ।

बेदिङका स्थानीय आरोहणको सिजनमा झण्डै तीन महिना घरबाट गाइड भएर स्वदेशी तथा विदेशी आरोहीहरूसंग हिमालतिर जाने गर्छन्। आरोहणको सिजनमा सरदर सात लाखसम्म आम्दानी
हुने र त्यसैले एक वर्षसम्म गुजारा चलाउनुपर्ने फुर्वा ठिले बताउनुहुन्छ।

यो सिजनमा बेदिङको घरमा २२/२४ जना मात्र बस्ने गरेको फुर्वा ठिलेले बताउनुभयो। बेदीङमा होटल व्यवसायसमेत सञ्चालन गर्नुभएका फुर्वा ठिले अहिले रोल्वालिङ पदमार्गमा स्वदेशी तथा विदेशी पर्यटकहरूको संख्यामा बृद्धि हुँदै गएकाले गाइडबाहेकको पेसामा समेत आकर्षण बढ्दै गएको बताउनुहुन्छ।

हिमआरोहीहरूको ऐतिहासिक गाँउ बेदिङको पहिचान जोगाउँदै बसोवासको सहज व्यवस्थापन र पर्यटकलाई आकर्षित गर्न सरकारले सहयोग गर्नुपर्ने बेदङीका अर्का सगरमाथा आरोही स्थानीय पेम्बा गेल्जेङ शेर्पा बताउनुहुन्छ।

भोटसँगको व्यापारिक नाकाको रूपमा सातौं शताब्दीताकै वस्ती विस्तार भएको
रोल्वालिङ क्षेत्रमा पर्ने बेदिङ, ना लगायतका हिमाली गाउँहरूमा भ्रमण वर्ष २०२० मा अधिक पर्यटक भिœयाउन सबैको सहयोग आवश्यक रहेको पेम्बा गेल्जिङको भनाइ छ।

गौरीशङ्कर संरक्षण क्षेत्रले भ्रमण वर्ष २०२० मा रोल्वालिङ पदमार्गमा अधिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्यसहित सिमिगाँउ, बेदिङ, सुरमुचे, क्याल्चे डोङखाङ, ना मा रहेका होटलमा मेनु वितरण तथा होटल व्यवसायसंग सम्बन्धित विभिन्न तालिम दिएको गौरीशङकर संरक्षण क्षेत्रका प्रमुख सत्यनारायण शाहले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्