दिपायल सिलगढी नगरपालिकाका एकै वडामा १८ छाउपडी गोठ



विमल विष्ट, डोटी।

डोटीको दीपायल सिलगढी नगरपालिका–८ लडागडामा मात्रै १८ वडा छाउपडी गोठ रहेको पाइएको छ।जिल्लामा छाउपडी अन्त्य गर्ने अभियान सञ्चालन भएर धमाधम छाउपडी गोठ भत्काउन शुरू गरिए पनि उक्त वडाको डाडीगाउँ, सेटीगाउँलगायतका ठाउँमा ठूलो संख्यामा छाउपडी गोठहरू रहेको पाइएको हो।

महिला अधिकार मञ्चकी अध्यक्ष तथा छाउगोठ अनुगमन समितिका संयोजक सीता विकसहितको टोलीले उक्त वडामा अनुगमन तथा छाउगोठको तथ्याक संकलन गर्ने क्रममा दुई गाउँमा मात्रै यति ठूलो संख्यामा छाउपडी गोठ भेटिएका हुन्।

नगरपालिकाको दुई गाउँमा मात्रै यति ठूलो संख्यामा छाउगोठ भेटिएपछि आफू अचम्ममा परेको छाउगोठ अनुगमन समितिका संयोजक विकले बताउनुभयो। उहाँले भन्नुभयो– ‘दुई गाउँमा त यति ठूलो संख्यामा छाउगोठ छन् अन्य वडामा कति होलान, हामी पुरै नगरपालिका तथ्यांक संकलन गर्दैछौं।

जहाँ शिक्षित छन् त्यहाँ बढी छाउगोठ छन्।’ उता डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जिल्ला भरमा भएका छाउगोठको तथ्यांक संकलन गरी सबै छाउगोठ भत्काइने बताउनुभयो।उहाँले भन्नुभयो– छाउगोठको तथ्यांक संकलन हुँदैछ, जति छाउगोठ छन् सबै भत्काउने छौं।

मुलुकी अपराधसंहिता २०७४ को दफा १६८(३) मा महिलाहरू रजस्वला भएको अवस्थामा छाउपडीमा राख्ने वा राख्न बाध्य पार्नेलाई ३ महिना कैद र ३ हजार रुपियाँसम्म जरिमाना हुने व्यवस्था रहेको भए पनि डोटीसहित समग्र सुदूरपश्चिम प्रदेशमा छाउपडीका नाममा महिनावारी भएकी महिलालाई छाउगोठमा राख्ने चलन कायमै रहेको छ।

गृह मन्त्रालयले पुस ९ गते प्रमुख जिल्ला अधिकारीलाई छाउपडी कुरीति नियन्त्रण गर्न निर्देशनपत्र पठाएपछि अहिले डोटीसहित समग्र सुदूरपश्चिममा छाउगोठ भत्काउने अभियान नै सञ्चालन भएको छ।

आफ्नो नगरपालिकामा भएका छाउगोठहरू तत्काल भत्काउन सबै वडाध्यक्ष र कर्मचारीलाई पत्राचार हित निर्देशन दिएको दीपायल सिलगढी नगरपालिकाका नगर उपप्रमुख शिवराज खड्काले बताउनुभयो।उहाँले भन्नुभयो, ‘छाउपडी गोठ भत्काउन सबै वडामा पत्राचार गरेका छौं ‘नभत्काउने वडामा हामी आफै गएर भत्काउने छौं।’

त्यसैगरी केही दिन पहिले प्रहरी तथा स्थानीयवासीले जिल्लाको बडीकेदार गाउँपालिका–३ घागलको सिदुरेपानीमा मात्रै २८ वटा छाउपडी गोठहरू भत्काइएका छन्। जिल्लाका नौ स्थानीय तहमा प्रहरीको सक्रियता र जनप्रतिनिधिको रोहवरमा छाउपडी गोठ भत्काउने क्रम जारी रहेको छ।

प्रहरीले समेत छाउ गोठ कुन वडा र गाउँमा कति छन् भन्ने विषयमा अनुगमन गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताउनुभयो। उहाँले भन्नुभयो– ‘प्रहरीले आफै छाउपडी गोठ खोज्दै हिँडेको छ, छाउपडी गोठ देख्नेबित्तिकै भत्काउन आदेश दिएको छु।’

नौ वटा स्थानीय तह रहेको डोटीमा सबै स्थानीय तहका जनप्रतिनिधिले महिनावारी भएकी महिला छाउगोठमा राख्नेलाई स्थानीयतहबाट प्राप्त हुने सेवा सुबिधाबाट वञ्चित गराउने निर्णयसमेत गरेका छन्।छाउ भएकी महिलालाइ घरमा राखे अनिष्ट हुन्छ र देउता रिसाउने भन्ने अन्ध विस्वासका साथ महिनावारी अर्थात छाउ भएकी महिलाका लागि बस्ने छुट्टै कटेरो बनाउने चलन जिल्लामा रहेको छ।

त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारले पनि छाउपडीका नाममा गरिँदै आएको विकृति तत्काल अन्त्य गर्न र गाउँमा बनाइएका छाउगोठ भत्काउन यहाँका स्थानीय तहलाइ पत्राचारसमेत गरेको छ। जिल्लामा कम्तीमा पनि १ सयको हाराहारीमा छाउगोठ हुन सक्ने सो क्षेत्रमा काम गर्ने संघ संस्थाको अनुमान रहेको छ।

प्रतिक्रिया दिनुहोस्