सुदूरमा २२ वर्ष यताकै भारी हिमपात



दयाराम पण्डित, बाजुरा

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली भेगमा २२ वर्षपछिको भारी हिमपात भएको छ। एक सातायता निरन्तर हिमपात हुँदा जनजीवन अस्तव्यस्त हुँदै गएको छ।

बाजुराको उत्तरपूर्वी क्षेत्र प्रदेश क्षेत्र ‘क’ बाट प्रदेश क्षेत्र ‘ख’ मा आउने एक मात्र नाका पोरखे लेकमा एक सात याता भइरहेको निरन्तर हिमपातकै कारण बाजुराको चार स्थानीय तहका बासिन्दालगायत छिमेकी जिल्ला हुम्ला, मुगु र कालिकोटका नागरिकलाई आवागमन कठिनाइ भएको छ।

पोरखेमा सात फिटभन्दा बढी हिमपात भएपछि आवागमन ठप्प भएको हो। कुन्डा क्षेत्रबाट आउने जिप तथा ट्याक्टर पाण्डुसैनमा थन्किएका छन्।

हिमाली गाउँपालिकामा साता दिनदेखि निरन्तर हिमपात हुँदा एक दर्जन बढी भेडाबाख्रा मरेका छन् भने मानिसलाई घरबाहिर निस्कन नसक्ने अवस्थामा रहेको लाम्पाटाका लालु गुरुङले जानकारी दिनुभएको छ।

विगत वर्षमा थोरै थोरै हिउँ आउने गरेको थियो यस वर्ष भने धेरै हिमपात भएको जगन्नाथ गाउँपालिका डाँडावाडाका रामबहादुर विष्टले बताउनुभएको छ। पहिले हिउँ आए पनि एक सातामा बिलाउने गरेको थियो, तर यस वर्ष भने एक डेढ महिनादेखि हिउँ परिरहेको स्थानीयले बताएका छन्।

पटकपटक हिउँ परिरहेकाले बाटाहरू अहिलेसम्म अलपत्र रहेको जगन्नाथ गाउँपालिका डिम्मर गाउँका गोकर्ण विष्टले बताउनुभयो।
गत मंसिर अन्तिम सातादेखि पटकपटक हिमपात भएपछि अत्यधिक चिसोले दैनिक जीवन अत्यन्त प्रभावित भएको छ।

एक ठाउँबाट अर्को ठाउँमा आवतजावत गर्न समस्या हुनुका साथै टेलिफोन सम्पर्क विच्छेद बनेका छन्।निरन्तरको हिमपातका कारण नेपालगन्जबाट बाजुरा, हुम्ला, जुम्ला, डोल्पा, मुगुमा हुने नियमित उडान सेवासमेत अनियमित भइरहेको छ।

स्थानीय सडक यातायात पनि १ महिनादेखि अवरुद्ध छ। हिमाली र पहाडी भेगमा सडकहरू बन्द भएका छन्। मार्तडी—कोल्टी सडक एक महिनादेखि अवरुद्ध छ। स्थल र हवाइमार्ग सबै बन्द हँुदा दैनिक उपभोग्य सामानको समस्या आएको बूढीनन्दा नगरपालिका–४ का रामबहादुर बोहराले बताउनुभएको छ।

चिसाको कारणले हिमाली भेगका गाउँमा बस्न नसकिने अवस्था भएपछि केही बस्ती बेंसीतिर झरेका छन्। हिमाली भेगका विद्यालय पूर्ण रूपमा बन्द भएका छन्।

जिल्लाका सबै विद्यालयको पठनपाठनमा समस्या भएको जिल्ला शिक्षा अधिकारी गोपालदत्त जोशीले बताउनुभएको छ। एक त विद्यालयमा विद्यार्थीमैत्री भौतिक पूर्वाधार नहुँदा यस्तो चिसोमा निकै समस्या भएको उहाँले बताउनुभयो।

बाजुुरा जिल्लाभर भारी हिमपात भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराईले बताउनुभएको छ। शनिवार दिनभर भएको वर्षासँगै खप्तड छेडेदह गाउँपालिकामा असिना पानीले हिउँदे बाली क्षति भएको प्रनाउ भट्टराईले जानकारी दिनुभएको छ।

बझाङ, दार्चुलाका उच्च भागमा पनि चिसोले जनजीवन प्रभावित भएको छ। बझाङको खप्तड छान्ना गाउँपालिकामा पनि चिसोले जनजीवन प्रभावित बनेको स्थानीयले वताएका छन्।

हुम्ला, मुगु, जुम्ला, कालिकोटमा चिसोले भाइरलका बिरामी समेत बढेका छन्। चिसोका कारणले रुखाखोकी, ज्वरोका बिरामी बढेको स्वास्थ्य संस्थाहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्