हेटौंडा छिर्न थाल्यो जंगली हात्ती



नेपाल समाचारपत्र, हेटौंडा।

मकवानपुरको मनहरीका ३ वटा वडामा जंगली हात्तीले आतंक मच्चाएको छ। हेटौंडा बजारबाट करिब १४ किमी पश्चिम क्षेत्रको जंगलमा केही दिनयता हात्तीले आतंक मच्चाएको हो।

केही दिनदेखि उक्त क्षेत्रमा राष्ट्रिय निकुञ्ज र वन कार्यालयबाट डार्टिङ गर्ने जनशक्तिसहित टोली परिचालन गरिएको छ। मानव सुरक्षाका लागि डार्टिङ टोलीले बिहीबार दिउँसो प्रहार गरे पनि त्यो सफल हुन नसकेको उक्त क्षेत्रमा पुग्नुभएका वनका सुबेदार यादवीन्द्र पौडेलले बताउनुभयो।

त्यहाँबाट भागेको हात्ती हाल मनहरी–हेटौंडाको सिमानामा पर्ने खोलानजिक रहेको पौडेलले जनाउनुभयो। डार्टिङका लागि शुक्रबार निकुञ्जबाट अर्को टोली पनि आउने बताइएको छ।

मनहरी गाउँपालिका–२, ३ र ४ का मानववस्तीका जंगलछेउ आएर जंगली हात्तीले मानवीय तथा भौतिक क्षति पुर्याइरहेकाले स्थानीयलाई सचेत रहन मध्यवर्ती समितिले आग्रह गरेको छ। वडावासीलाई मध्यवर्ती क्षेत्रका जंगलमा बिनाअनुमति प्रवेश नगर्न उपभोक्ता समितिले अनुरोध गरेको हो।

वस्तीछेउ आइपुगेको हात्तीलाई सम्बन्धित वासस्थानमा फर्काउन पहल भइरहेकाले हात्तीलाई जिस्क्याउने, भीड गर्ने, तर्साउने नगर्न स्थानीयलाई समितिले अनुरोध गरेको छ। पर्सा राष्ट्रिय निकुञ्जबाट वस्तीमा छिरेको हात्तीले आतंक मच्चाउन थालेपछि मध्यवर्ती क्षेत्रका वासिन्दा रातभर अनिँदो बस्न बाध्य छन्।

मनहरी गाउँपालिका–२ स्थित ठाडोखोला र गोगनघारी क्षेत्रका दुई सय घरपरिवार जंगली हात्तीका कारण आक्रान्त बनेका छन्। एक वृद्धालाई आक्रमण गरी मार्नुका साथै अर्जुन रुम्बा र नारायण रुम्बाको घर बुधबार राति जंगली हात्तीले भत्काएपछि गाउँलेहरू आक्रान्त बनेको मनहरी–२ का अध्यक्ष आनन्द घलानले बताउनुभयो।

राति सक्रिय रहने जंगली हात्ती दिनभर जंगल क्षेत्रमा लुक्ने गरेको भन्दै वडाध्यक्ष घलानले निकुञ्ज प्रशासनलाई जानकारी गराउँदासमेत नियन्त्रणमा ल्याउन नसकिएको बताउनुभयो। दिउँसो निकुञ्जका सुरक्षाकर्मी आउने गरे पनि राति गाउँलेहरूले आगो बालेर हात्ती धपाउने गरेको उहाँले जानकारी दिनुभयो।

हात्तीको आक्रमणबाट बच्न उपभोक्ता सचेत हुनुपर्ने पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अध्यक्ष पदमबहादुर तितुङ बताउनुहुन्छ। वन्यजन्तुलाई कहींकसैले रोक्न नसक्ने हुनाले हात्ती हिँड्ने बाटो संरक्षण र मानिसले हात्तीलाई लखेट्ने किसिमका गतिविधि बन्द हुनुपर्ने उहाँको विचार छ।

हात्तीको वासस्थान संरक्षण गर्नुपर्ने भन्दै उहाँले मानिसले अलिकति मात्र विवेक पुर्याए हात्तीबाट मानिसको ज्यान जाने क्रम ७० प्रतिशतसम्म रोकिन सक्ने दाबी गर्नुभयो।चार दिनअघि मनहरी गाउँपालिका–३ मा एक वृद्धालाई जंगलमा आक्रमण गरी मारेपछि जंगली हात्ती वडा–२ तर्फ लागेको स्थानीयले बताएका छन्।

हात्तीको आक्रमणबाट सोमबार बिहान करिब १०ः३० बजे मनहरी गापा–३, मेलडाँडा बस्ने वर्ष ८० की मैया थापाको ज्यान गएको हो। घाँस काट्न घरबाट करिब ३ किमी पश्चिमतर्फ रहेको पर्सा वन्यजन्तु आरक्ष जंगलमा जानुभएकी उहाँलाई जंगली हात्तीले आक्रमण गर्दा घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ।

केही वर्षयता जंगली हात्तीको संख्या बढ्दै गएपछि तिनलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता थपिएको छ। वन्यजन्तुको वासस्थान र तिनले ओहोरदोहोर गर्ने क्षेत्रमा मान्छेको अतिक्रमण भएपछि हात्तीले मानिसलाई आक्रमण गरी मार्ने, राति वस्तीमा पसेर अन्नबाली खाइदिने र घर भत्काइदिने गरेका छन्।

विगतमा हुलका हुल जंगली हात्ती मनहरी क्षेत्रमा आउने गर्थे।छावासहित जंगली हात्ती रातको समयमा आहारा खोज्दै मानववस्ती पस्ने गरेका छन्।

नजिकका सामुदायिक वन घना हुँदै गएर अन्नबाली पनि उनीहरूले मन पराउने प्रकारका छन्। त्यही कारण उक्त क्षेत्रमा हात्तीको संख्या बढेको स्थानीयले बताएका छन्।

सरकारले हात्तीले मन नपराउने वैकल्पिक बाली लगाउने, सर्वसाधारणमा चेतना जगाउने तथा क्षतिपूर्ति भराइदिने लगायत काम गर्ने गरेको छ। हात्ती र मान्छेबीच द्वन्द्व बढेसँगै मनहरी क्षेत्रमा हात्तीको आक्रमणबाट सर्वसाधारणको ज्यान जाने क्रम पनि बढेको छ।

प्रतिक्रिया दिनुहोस्