नगरपालिकाको आफ्नै स्रोतबाट चिकित्सक नियुक्त



नेपला समाचारपत्र, बुटवल ।

तिलोत्तमा नगरपालिकले आफ्नै स्रोतमा चिकित्सक नियुक्त गरेको छ। नगरवासीमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचलाई सर्वसुलभ बनाउन नगरपालिकाले आफ्नै स्रोतबाट चिकित्सक नियुक्त गरी सेवा प्रारम्भ गरेको हो।

सेमराबजार स्वास्थ्य चौकीबाट शुरु गरिएको चिकित्सकीय स्वास्थ्य सेवा क्रमशः अन्य स्वास्थ्य चौकीमा पनि विस्तार गरिने नगरपालिकाले जनाएको छ। तिलोत्तमामा सात वटा स्वास्थ्यचौकी, दुई वटा शहरी स्वास्थ्य केन्द्र, दुई वटा बर्थिङ सेन्टर सञ्चालनमा छन्।

चालु आर्थिक वर्षमा थप पाँच वटा शहरी स्वास्थ्य केन्द्र स्थानपना हुने क्रममा छन्। १५ शैंयाको अस्पतालमा स्तरोन्नती गर्ने लक्ष्यका साथ सेमराबजार स्वास्थ्य चौकीबाट चिकित्सकीय सेवा शुरु गरिएको नगर उप–प्रमुख जागेश्वरी चौधरीले जानकारी दिनुभयो।

सेमराबजार स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नति गर्न नगरपालिका पूर्ण प्रतिबद्ध रहेको बताउँदै उहाँले जग्गाको समस्या समाधान हुने बित्तिकै निर्माण अघि बढ्ने प्रष्ट्याउनुभयो।

चिकित्सकीय सेवा सुभारम्भ कार्यक्रममा प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले जग्गाको स्वामित्व स्वास्थ्यचौकी मातहतमा आएपछि १५ शैंयाको अस्पताल बनाइने बताउनुभयो।

स्वास्थ्य चौकीले उपयोग गरेको जग्गालाई चौकी मातहत ल्याउन आफू लागिपरेको बताउँदै उहाँले स्वास्थ्य चौकीलाई अस्पताल बनाउन नगरपालिका, प्रदेश र प्रतिनिधिसभाका सबै जनप्रतिनिधि प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो।

५ नं प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोद गिरीले स्वास्थ्य चौकीमा अत्यावश्यक उपकरणका लागि निर्देशनालयले आवश्यक सहयोग गर्ने बताउनुभयो।

चिकित्सकीय सेवा शुरु गरेर तिलोत्तमाले राम्रो कामको प्रारम्भ गरेको बताउँदै उहाँले गुणस्तरीय स्वास्थ्य सेवा विस्तारमा यसले महत्वपूर्ण टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र कुमार गिरी, करहिया–मक्रहर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष यज्ञ गैरे, स्वास्थ्य चौकी सञ्चालक समितिका उपाध्यक्ष कृष्ण पौडेललगायतले बोल्नुभएको थियो।

निःशुल्क चिकित्सकीय सेवा सुरु गरिएको सेमराबजार स्वास्थ्य चौकीमा प्रयोगशालासमेत छ।
हाल स्वास्थ्य चौकीमा डा. विनोद बढई कार्यरत रहनुभएको छ। सोही अवसरमा बर्थिङ सेन्टरमा सुत्केरी भएकाहरूलाई प्रोत्साहन स्वरुप थप पाँच सय रुपियाँ प्रदान गरिएको थियो।

तिलोत्तमा नगरपालिकाले सुन्य होम लेडिभरीलाई प्राथमिकता दिँदै आफ्नै स्रोतबाट बर्थिङ सेन्टरमा सुत्केरी हुनेहरूलाई पाँच सय रुपियाँ प्रोत्साहन भत्ता दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्