जलाउन लागेको शव प्रहरीको नियन्त्रणमा



नेपाल समाचारपत्र, विराटनगर।

जलाउन लागेको शव प्रहरीले नियन्त्रमा लिएको छ। सिंघिया खोलाको घाटबाट महिलाको शव नियन्त्रणमा लिएको हो। माइती पक्षले मृत्यु शंकास्पद रहेको भन्दै खबर गरेपछि प्रहरीले मसानघाटबाट शव नियन्त्रणमा लिएको हो।

विराटनगर–८ बलुवाहीस्थित सिंघिया खोलामा जलाउने तयारी भइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ। विराटनगर–८ बलुवाहीकै २८ वर्षीया प्रेमदेवी साहलाई श्रीमान्का परिवारले सद्गत गर्ने उद्देश्यले खोलामा पुर्याएको थियो।

बुधबार राति कालगतिले उनको मृत्यू भएको श्रीमान् पक्षले दाबी गरे पनि मृतकको घाँटीमा शंकास्पद डाम देखिएपछि मृतक साहको शव प्रहरीले नियन्त्रणमा लिएको थियो। मृतक महिलालाई जलाउनका लागि घाटमा पुर्याएर चितासमेत बनाइसकेको अवस्थामा माइती पक्षका आफ्न्तले मृतकको घाँटीमा आलो डाम देखेपछि प्रहरीलाई खबर गरेका थिए।

लगत्तै पुगेको प्रहरीले शवको मुचुल्का गरी पोस्टमार्टमका लागि कोशी अस्पतालमा पठाएको थियो। मदेवीको मृत्यु भएको भनेर बिहान साढे ५ बजे उनका माइती पक्षलाई खबर पुगेको थियो। मृतककी दिदी श्यामदेवी साहले यसअघिदेखि घरमा झैझगडा हुने गरेका कारण बहिनी सधैं तनावमा रहने गरेकाले मानसिक समस्यासमेत देखिएको जानकारी दिनुभयो।

उहाँले मृतक बहिनीका परिवार पक्षले कालगतिले नै मृत्यू भएको भनेर छरछिमेकलाई पनि सुनाए पनि घटना रहस्यमय रहेको बताउनुभयो। घटनापछि प्रहरीले प्रेमदेवीका श्रीमान् गोविन्द साहलाई पनि नियन्त्रणमा लिएको छ।

गोविन्दसँग उनको १२ वर्ष अघि मागी विवाह भएको आफन्तले जनाएका छन्। उनीका ११ र ९ वर्षका दुई छोरा छन्। गोविन्दलाई नियन्त्रणमा लिएपछि प्रहरीले उनको घरको खानतलासीसमेत गरेको छ। गोविन्दले भने श्रीमती केही समयदेखि मानसिक बिरामी रहेको दाबी गर्दै कालगतिले नै मृत्यू भएको दाबी गरेका छन्।

उनले आफ्नी श्रीमतीले चार÷पाँच महिनाअघि सलले घाँटी कसेर आत्महत्याको प्रयास गरेको बताउँदै अहिले शंकास्पद रुपमा हेरिएको डाम रहेको दाबी गरे।

उनले मानसिक बिरामीका कारण छटपट गरेपछि आफूले बिहान ३ बजेसम्म रुघेर बसेको र निद्रा लागेरपछि श्रीमतीको मृत्यु भएको उनले बताए। बिहान ५ बजे उठेर हेर्दा सुतेको खाटबाट तल झरेको र मृत्यु भएको अवस्थामा आफूले श्रीमतीलाई पाएको उनले दाबी गरेका छन्।

श्रीमान् गोविन्दले मृतककोे घाँटीमा देखिएको डाम पुरानो भएको दाबी गरे पनि माइती पक्षले सो कुरालाई अस्वीकार गरेका छन्। प्रेमले यसअघि आत्महत्याको प्रयास गरे पनि त्यतिखेर उनको घाँटीमा कुनै दाग नबसेको उनीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्