अझै छैन भूकम्पको जनचेतना



नेपाल समाचारपत्र, हेटौडा।

भुकम्पीय सुरक्षा दिवस हेटौंडामा विभिन्न कार्यक्रम गरी मनाइएको छ। बिहीबार १९९० माघ २ गते गएको भूकम्पको सम्झनामा दिवस मनाइएको हो।

मकवानपुरमा ०७२ वैशाख १२ गतेको भूकम्पमा परी मृत्यु हुनेमध्ये अधिकांशको चेतना अभावमा ज्यान गुमेको बताइन्छ।

अझ पनि मकवानपुरका गाउँमा भूकम्पबारे चेतना नभएका प्रशस्त भेटिन्छन्। भूकम्पबारे जनचेतना फैलाउन एक वर्षमा दिवसलाई कुर्नुपर्ने सर्वसाधारणको भनाइ छ। दिवसको अवसरमा मात्र यसलाई चासो दिएर जनचेतना फैलाए जसरी सडकमा ब्यानरमात्र
डोर्याएर केही नहुने मनहरी गाउँपालिकाका सर्वसाधारणले गुनासो गरे।

‘यसका लागि विकट ठाउँमा तालिम प्रदान गर्दै अनि विभिन्न जनचेतनामूलक सामग्री प्रस्तुत गरे मात्र प्रभावकारी हुने देखिन्छ,’ उनीहरूले भने। मकवानपुरमा जिम्मेवार व्यक्तिले यसका लागि दिवस करले मनाएको हेटांैडा उपमहानगरपालिका निवासी सुवास गौतमले बताउनुभयो।

अन्य बेला वास्तै नहुने र दिवसमा मात्र ब्यानर बोकेर हिँड्दैमा के हुन्छ र ? भन्दै उहाँले भन्नुभयो– ‘अझंै पनि गाउँठाउँमा चेतना कमी छ।’ भूकम्प प्रतिरोधी घर कसरी बनाउने र कतिलाई त भूकम्प आउँदा कसरी बच्ने भन्नेसमेत जानकारी नभएको उहाँले गुनासो पोख्नुभयो।

जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलालले भूकम्पबारे चेतना जगाउनुपर्ने बताउनुभयो। खुलालले नेपाल भुकम्पको उच्च जोखिमयुक्त विश्वका ११ मुलुकभित्र रहेको र जुनसुकै बेला भूकम्प आउनसक्ने हुनाले भुकम्प सुरक्षाबारे तल्लो तहका नागरिकसम्म चेतना फैलाउन जरुरी रहेको बताउनुभयो।

दिवसीय कार्यक्रम मात्र नभएर अन्य दिन पनि यस विषयलाई जनमाससम्म पुर्याउनुपर्ने खुलालले सझाउनुभयो। ‘सबैभन्दा पहिलो कुरा स्थानीय तहले यसका लागि पहल गर्नुपर्छ, उहाँले स्थानीय निकायले यसमा ध्यान दिनुपर्ने औंल्याउनुभयो। विद्यालयमा विद्यार्थीलाई ठाउँअनुसार भूकम्प आउँदा बच्ने उपाय सिकाउन आवश्यक रहेको उहाँको भनाइ छ।

एकदिन दिवस मनाउँदा नागरिकसम्म चेतना पुग्न नसक्ने भएकोले पठनीय र हेर्न लायक जनचेतनामूलक सामग्री बारम्बार पस्किन जरुरी रहेको औंल्याइयो। भूकम्पका जानकार नहुँदा नेपालमा भूकम्पीय जोखिम न्यूनीकरणका अभियान र प्रयास प्रभावकारी हुन नसकेको धारणा छ।

भूकम्पका दृष्टिले जोखिम अझ बढी छ। नेपाल जमिनमुनिको प्रकोप अथवा भुकम्पीय जोखिमका दृष्टिले ११औं जोखिमयुक्त क्षेत्रमा पर्छ। कमजोर भौतिक संरचना, अव्यवस्थित बस्ती, निर्माण संहिताविपरीत भवनलगायत कारण जोखिम बढ्दै गएको छ। सरकारले भूकम्पीय जोखिमबाट बच्न पूर्वतयारी नीति बनाए पनि यसको पूर्ण कार्यान्वयन हुन सकेको छैन।

दिवसका अवसरमा बिहीबार हेटौंडामा प्रभातफेरी गर्नुका साथै भूकम्प आउँदा सुरक्षित हुन अपनाउनुपर्ने सावधानीका विषयमा चेतनामूलक प्रदर्शनी गरिएको थियो। नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले भूकम्प सुरक्षासम्बन्धी चेतनामूलक सामग्री प्रदर्शन गरेका हुन्।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुर प्रमुख खुलालको प्रमुख आतिथ्यता थियो।

प्रतिक्रिया दिनुहोस्