नमुना भूकम्पमा सेनाको उद्धार



नेपाल समाचारपत्र, काभ्रे।

सदरमुकाम धुलिखेलको व्यस्त सरस्वती बजारमा एकाएक मान्छेहरूको कोलाहल मच्चियो। भुकम्प आयो भुकम्प आयो। सबै अक्क नबक्क भए। तुरुन्तै हेलिकप्टरको आवाज आयो। नेपाली सेनाको फौज उद्दारमा खटियो।

सरस्वती बजारमा रहेको मिलन मिठाइ पसलको छतबाट एकाएक सेनाहरू डोरीमा तल झरे। घरभित्र रहेका बिरामीहरूलाई स्टेचरमा राखेर डोरीमै बाहिर निकाले। कोहि बिरामी स्टेचर बिना नै डोरीमा राखेर तल पठाए। स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको थियो।

बिरामीलाई प्राथमिक उपचारका लागि प्रयास गरियो। श्वास प्रश्वासमा समस्या भएको बिरामीलाई मुखबाटै श्वास दिने सक्दो प्रयास भयो। तर पनि उपचार सम्भव नभएपछि सेनाले एम्बुलेन्समार्फत अस्पताल पठायो। उक्त दृश्य हेर्न सयौं व्यक्तिहरूको भीड लागिसकेको थियो।

सेना, प्रहरी र ट्राफिकले त्यसको व्यवस्थापन गरिरहँदा जनप्रतिनिधि र कर्मचारीहरूले सेनाको साहसिक उद्धारलाई जिब्रो काट्दै ताली बजाएर समर्थन गरेका थिए।

भूकम्प सुरक्षा दिवसको अवसरमा धुलिखेलमा नेपाली सेना विष्णु दल गण धुलिखेलले भूकम्प गएपछि कसरी सुरक्षित हुने र कसरी उद्धार गर्ने भन्ने विषयमा डेमो प्रर्दशन गरेको थियो।

सेनाको डेमो प्रर्दशनले भूकम्पमा उद्धार गर्न अथार्त विपद् व्यवस्थापनमा तत्काल उद्धार गर्न आवश्यक सामाग्रीहरूको व्यवस्थापनका साथै विधि र तत्काल गर्नुपर्ने तयारी र आवश्यकताका बारेमा जानकारी गराइएको थियो।

समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्मा, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, धुलिखेल नगरपालिका प्रमुख प्रशासकीय प्रमुख तारानाथ लुइँटेल, उद्योग वाणिज्य संघ, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ, विभिन्न कार्यालयका प्रमुखहरू, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका प्रमुख मोतीराम तिमल्सिना, जिल्ला प्रहरी प्रमुख एसपी रविकुमार पौड्याल, सशस्त्र प्रहरी गुल्म काभ्रे हेडक्वाटरका एसपी पुरुषोतम थापा, नेपाली सेना विष्णु दल गणका सेनानीलगायतको सहभागिता रहेको थियो।

सहभागीहरूले धुलिखेल नगर परिक्रमा गरी भूकम्प सुरक्षासम्बन्धी कसरी बच्ने भन्ने विषयमा सचेतना गराइएको थियो।

प्रतिक्रिया दिनुहोस्