गाउँगाउँमा प्रहरीको गस्ती परिचालन



नेपाल समाचारपत्र, सल्यान।

गाउँका दूरबस्तीमा प्रहरीले गस्ती बढाएको। जिल्ला प्रहरी कार्यालय सल्यानले दूरदराजका बस्तीमा प्रहरी गस्ती अभियान सञ्चालन तथा विस्तार गरेको हो। विकट ठाउँका जनतासँग प्रहरीको सम्बन्ध विस्तारका लागि भन्दै प्रहरीले गस्ती अभियान थालेको जनाएको छ।

कुनै घटना तथा कार्यक्रमबाहेक दूरदराजमा प्रहरीको पहुँच पुग्न नसकेको भन्दै जनताको शान्ति सुरक्षा तथा अमन कायम गर्न गस्ती अभियान सञ्चालन नगरिएको सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो।

‘शहर बजारमा प्रहरीको पहुँच राम्रो रहेको छ तर दुरदराजमा हाम्रो उपस्थितिनिकै कम भयो,’ उहाँले भन्नुभयो– ‘त्यसकारण अभियान सञ्चालन गरेका छौं।’ गस्तीका लागि प्रहरीको पहुँच नपुगेको भनिएका जिल्लाका ३८ स्थान छनोट गरिएको छ।

प्रहरीले पानचौर, दार्मकोट, बाफुखोला, गुरुदासे, गर्चे, अवलबेसी, घुइयाबारी, जलजला, छरछरे, कालापातललगायतका ३८ स्थानमा पहुँच रहेको जनाएको छ। २ घन्टादेखि ८ सम्मको पैदल दुरीमा पर्ने स्थानलाई प्रहरीले दूरदराजको स्थान भनेर वर्गीकरण गरेको छ।

सक्रियता देखाउन सातामा एक पटक तोकिएका स्थानमा अनिवार्य प्रहरी पुग्नुका साथै स्थानीय र जनप्रतिनिधिसँग छलफल अन्तरक्रिया गर्नै पर्ने प्रहरी प्रमुख खतिवडाले बताउनुभयो।

नजिकैका दुई प्रहरी पोस्टबाट तोकिएको स्थानमा पुगेर स्थानीयसँग छलफल, अन्तरक्रिया गरी फोटो खिचेर आउनु पर्नेछ। प्रहरीको पहुँच नभएको भन्दै अपराध गर्ने व्यक्ति लुक्न सक्ने भएकाले पनि त्यस्ता स्थानमा सक्रियता बढाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्