हिउँ परेपछि वन्यजन्तुको चोरी शिकार बढ्यो



नेपाल समाचारपत्र, डोटी।

हिमपात भएपछि वन्यजन्तुको चोरी शिकार बढेको छ। खप्तड क्षेत्र नजिकका जंगलमा वन्यजन्तुको चोरी शिकार बढेको हो।

यहाँ उच्च लेकारी भेगमा दिनहुँ चोरी शिकार भइरहेको स्थानीय डम्मर मौनीले बताउनुभयो। वन्यजन्तुको शिकार गर्नेहरू बन्दुक, भाला, खुकुरी लिएर दिनहुँद जंगल जान थालेको उहाँले जानकारी दिनुभयो।

लेकाली भेगमा बाक्लो हिमपात शूरुभएसँगै वन्यजन्तु वस्ति तथा औल तिर आउने भएकाले शिकारीहरू शिकार खेल्न जाने गरेको स्थानीय बताउछन्।

यहाँका सिकारीले कालिज, बदेल, मृग, घोरल, बदेल, जरायो, रतुवालगायतका वन्यजन्तुको सिकार गरी सुकुटी बनाएर स्थानीय बजारमा बिक्रि गर्ने गरेका छन्।

शिकार खेल्न स्थानीय आ–आफ्नो छुट्टै समूह बनाइ एक दुई हप्तासम्म जंगलमै बस्ने गरेको जोरायल गाउँपालिका–५ का स्थानीय निरज विष्टले बताउनुभयो।

‘शिकारीहरू समूह बनाएर जंगल छिर्ने गरेका छन्’, उहाँले भन्नुभयो– ‘उनीहरूले भरुवा बन्दुक तथा भाला, पासो प्रयोग गरी वन्यजन्तु मार्न थालेका छन्, शिकारीलाई कसैले रोक्न सकेको छैन।’

हिमपात भएको समयमा वन्यजन्तुको शिकार गर्न सजिलो हुने भएकाले उनीहरू अहिले हिमपातको मौका छोपी जंगल जान थलोको स्थानीयवासी बताउँछन्। यति मात्र नभइ यहाँका कतिपय शिकारीले कुकुरसमेत प्रयोग गरेर मृगको शिकार गर्ने गरेका छन्।

शिकारीले मारेका वन्यजन्तुको मासु तथा सुकुटी यहाँका प्रमुख व्यापारी केन्द्र दीपायल, राजपुर, पिपल्ला, गैरालगायतका ठाउँमा खुलेआम बिक्री वितरण हुने गरेको छ। खुलेआम वन्यजन्तुको चोरी शिकार हुँदासमेत सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयको आरोप छ।

उता जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलिपसिंह देउवाले वन्यजन्तुको चोरी शिकार गर्नेलाई पक्राउ गरी कारबाही गरिने बताउनुभयो।

‘वन्यजन्तुको चोरी शिकार गर्नेको नाम र ठेगाना गोप्यरूपमा संकलन गर्दै छौं,’ उहाँले भन्नुभयो– ‘सबैसँग मिलेर शिकारी र बिक्री गर्नेलाई कारबाही गर्छु।’

जिल्लाका उच्च भेग पर्ने तेलेलेक, देउताल र खप्तड राष्ट्रिय निकुञ्जमा हिमपात भएपछि वन्यजन्तु नापानी, मुथे, धनाडी, बगर, गोलादेउ, उदैनी, ढोलेपानी तथा दीपायल सिलगढीका विभिन्न जंगलमा आउने गर्छन्।

दीपायलमा कालिज १ हजार ५ सयदेखि २ हजारसम्म पर्छ भने बँदेल, घोरललगायत अन्य वन्यजन्तुको काँचो मासु प्रतिकेजी ५०० तथा सुकुटी २ हजारमा बिक्री हुने गरेको स्थानीयवासी बताउछन्।

त्यस्तै शिकारीले शिकार गर्ने समयमा मारेका बाघको छाला र भालुको पित्त भने चीन, तिब्बत र भारतबाट आउने व्यापरीले किन्ने गरेको स्थानीयको दाबी छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित पक्षी तथा वन्य जन्तुको शिकार गर्नेलाई ५ वर्षदेखि १५ वर्षसम्म कैद र नगद ५० हजारदेखि १ लाखसम्म जरीवाना हुन सक्ने कानुनी प्रावधान रहेको छ।

अहिलेसम्म जिल्लामा वन्यजन्तु चोरी शिकार गर्ने कोही पनि पक्राउ तथा कारबाहीमा नपर्दा चोरी शिकार गर्नेहरूको मनोबल बढेको हो।

प्रतिक्रिया दिनुहोस्