सडक महोत्सव शुरू



नेपाल समाचारपत्र, विराटनगर।

स्थानीय संस्कृति र जातीय खानाको प्रवद्र्धन गर्ने उद्देश्यका साथ विराटनगरमा ‘विराट सडक महोत्सव–२०७६’ शुरू भएको छ। महोत्सवमा विभिन्न परिकार तथा समुदाय विशेषका खानाका परिकार, विभिन्न राष्ट्रिय कलाकारद्वारा सांगीतिक प्रस्तुति र विभिन्न संस्कृति झल्किने नृत्य मुख्य आकर्षक रहने गरी महोत्सव शुरू भएको हो।

मञ्जिना मुभिज क्रियसनको आयोजनामा माघ चार गतेसम्म चल्ने महोत्सवको बुधबार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उद्घाटन गर्नुभयो। उद्घाटनपश्चात बोल्दै मेयर पराजुलीले यस किसिमको कार्यक्रम आगामी दिनमा पनि हुनुपर्ने बताउँदै महानगरपालिकाले निरन्तर सहयोग गर्ने बताउनुभयो।

उहाँले महानगरपालिकाले पनि चाँडै नै भव्य सडक महोत्सव गर्ने घोषणा गर्नुभयो। त्यस्तै जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो। उहाँले मेलामा भीडभाडका कारण विभिन्न अपराधिक घटना हुन सक्ने भन्दै सचेत रहन पनि आग्रह गर्नुभयो।

आयोजक समितिका संयोजक तथा मञ्जिना मुभिजका प्रबन्ध निर्देशक जतिन ताम्राकारले विराटनगरमा सडक महोत्सव गर्ने पहिलेदेखिको सपना पूरा भएको बताउनुभयो। उहाँले महोत्सवले नेपाल सरकारले अघि सारेको भ्रमण वर्षको प्रचार गर्ने पनि बताउनुभयो।

उद्घाटन समारोहमा बोल्ने वक्ताहरूले सडक महोत्सव महत्वपूर्ण भएको बताउँदै सफलताको शुभकामना व्यक्त गरेका थिए। ५० वटा स्टल रहेको महोत्सवमा नेवारी, थारू, मारवाडी, थकालीसहित स्थानीय विभिन्न खानाका परिकार रहेका छन् भने फुट ट्रक थप आकर्षणका रूपमा रहेको छ।

त्यस्तै खानाबाहेक स्थानीय उत्पादन, व्यावसायिक स्टल पनि रहेका छन् भने बालबालिकाका लागि गेमजोन, हरेक साँझ स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको प्रस्तुतिसमेत रहनेछ।

प्रतिक्रिया दिनुहोस्