५० हल गोरु जुधाइयो



नेपाल समाचारपत्र, नुवाकोट।

माघे संक्रान्तिका अवसरमा नुवाकोटमा ५० हल गोरु जुधाइएको छ। जिल्लाको तारुकामा २१ हल, बेत्रावतीमा ११ हल, घले भञ्ज्याङमा ८ हल, सातबीसेमा ४ हल, कट्टीछापमा २ हल र सेराबगरमा ४ हल गरी ५० हल गोरु जुधाइएको हो।

‘तारुकाको पौरख नेपालको गौरव’ भन्ने नारासहित तारकेश्वर गाउँपालिका–३ तारुकामा २१ हल गोरु जुधाइएको छ। बझाङी राजा विक्रमबहादुर सिंहको छोरा राजकुमार जयपृथ्वीबहादुर सिंहको उपस्थितिमा विसं १८८७ सालदेखि शुरू भएको गोरु जुधाइ महोत्सवलाई २०६२ सालदेखि स्थानीय युवाहरूले सस्कृतिको संरक्षण तथा पर्यटन प्रवद्र्धनको लागि केन्द्रित रहेर व्यवस्थितरूपमा गोरु जुधाइ पर्वको रूपमा मनाउँदै आएका छन्।

जयपृथ्वीबहादुर सिंह मावली गाउँ तारुका आउँदा उनलार्ई मनोरञ्जन दिन गोरु जुधाइएको र यसलाई स्थानीयवासीले निरन्तरता दिँदै अहिले संस्कृति, परम्परा र पर्यटन प्रवद्र्धनसँग जोडेर व्यवस्थितरूपमा निरन्तरता दिँदै आएका छन्।

त्यस्तै विदुर नगरपालिका–१० स्थित नुवाकोट र रसुवाको सीमामा रहेको वेत्रावतीको ढाँडेबगरमा नेपाल भोट युद्धमा सम्झौता भएको सम्झना स्वरुप हरेक वर्ष माघ १ गते गोरु जुधाइ गरेर रमाइलो गर्ने प्रचलन रहेको छ। विसं १८४९ मा भोट र नेपालबीचको भएको व्यापार सन्धिको खुसियालीमा आयोजना गरिएको गोरु जुधाइ मेलालाई संस्कृति र परम्परा धान्नको लागि निरन्तरता दिँदै आएको छ।

त्यस्तै विगत ९ वर्षदेखि गोरु जुधाउँदै सातपटक बिजेता बनेका विदुर नगरपालिका–१० का पूर्णबहादुर डंगोलले गोरु जुधाउन आयोजकले सहयोग गरेको बताउनुभयो। उहाँले पछिल्लो समय गोरु जुधाउने परम्परा कायम जोगाउन युवा पुस्ता सक्रिउ रहेको बताउनुभयो।

यसपटक करिब ३ हजारभन्दा बढी दर्शकको सहभागिता रहेको आयोजक गोसाईंकुण्ड युवा क्लबले जनाएको छ। पछिल्लो समय नुवाकोटमा गोरु जुधाउने पर्वको रूपमा परिचित माघेसंक्रान्ति मेलामा जिल्लाबाट मात्र नभर्ई काठमाडौं उपत्यकासहित आन्तरिक र बाह्य पर्यटकसमेत मेलाको अवलोकनको लागि यहाँ आउने गरेका छन्।

नेताहरूलाई व्यंग्य गरिने यहाँको गोरु जुधाइमा सधैंजसो प्रमुख राजनीतिक हस्ती नै प्रमुख अतिथि बनेर आउने गरेका छन्। तारुकाको गोरु जुधाइको प्रमुख अतिथिमा नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला आउनुभएको थियो भने भने वेत्रावतीको गोरु जुधाइको प्रमुख अतिथिमा उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे र घले भञ्ज्याङको गोरु जुधाइमा डा. रामशरण महत प्रमुख अतिथि रहनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्