कुष्माण्डमा शुरू भयो एक महिने मकर मेला



नेपाल समाचारपत्र, हेटौंडा।

हेटौंडाको एक प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकसित कुष्माण्ड सरोवर त्रिवेणीधाममा एकमहिने मकर मेला शुरू भएको छ। हरेक वर्ष माघ महिनाभर मेला लाग्दैआएको उक्त क्षेत्रमा यस वर्ष पनि एक महिनासम्म मकर मेला शुरू भएको हो।

कुष्माण्ड सरोवर त्रिवेणीधाममा मुक्तिनाथपछि १ सय ८ गौमुखीधारा, पोखरीको बीचमा कुष्माण्ड भगवतीको मन्दिर, सिसमहललगायत भौतिक संरचना प्रमुख आकर्षणका रूपमा छन्।

मकर मेलाको बुधबार जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलालले उद्घाटन गर्नुभयो। मेला उद्घाटन गर्दै प्रमुख खुलालले कुष्माण्ड सरोवर त्रिवेणीधाम मकवानपुरको धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकसित हुँदै गएकोले यसको प्रचारप्रसारमा ध्यान दिनुपर्ने बताउनुभयो।

कुष्माण्ड सरोवर त्रिवेणीधाममा हरेक माघ महिनाभर लाग्ने मेलामा एकसय ८ गौमुखी धारामा मकर स्नान, दैनिक भागवत पाठपारायण, ख्यातिप्राप्त गुरुजनबाट दैनिक प्रवचन, भजन कीर्तन, साँझ आरती, सामूहिक व्रतबन्ध गर्नेहरूको भीड लाग्ने गरेको छ।

माता कुष्माण्ड भगवतीले तपस्या गरी सिद्धि प्राप्त भएको सिद्ध क्षेत्र, पाण्डवहरूले श्राद्ध तर्पण गरेको, अम्बरिस राजाले भगवान विष्णुको आज्ञाले एकसय आठ धारामा स्नान गरी सन्तान लाभ भएको लगायत विभिन्न रोग निदान भएको धर्मशास्त्रमा उल्लेख भएअनुसार उक्त क्षेत्रको महत्व रहेको कुष्माण्ड सरोवर त्रिवेणीधाम विकास समितिले जनाएको छ।

तीन नदीको संगमस्थलका साथै उत्तर बाहिनी नदीका कारण पनि उक्त क्षेत्रमा गरिने स्नानको विशेष महत्व छ। मकर मेलाबाहेक कुष्माण्ड नवमी मेला, एकादशी, वडादशैं, साउन महिनाका सोमबार उक्त क्षेत्रमा श्रद्धालुको भीड लाग्ने गरेको छ।

‘देशमा एक ठाउँमा मात्र हुने मेला र ठूलो धार्मिकस्थलमा समेत यसरी प्रचार नहुँदा महत्वसमेत कम हुन्छ, समिति अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले भन्नुभयो– ‘सरकारले ध्यान देओस्।’ उक्त क्षेत्रमा कार्तिक नवमीको दिन कुष्माण्ड मेलामा कुभिन्डो दान गर्ने गरिन्छ।

कुभिन्डोमा सुनको प्रतिमा राखी दान गर्नाले भूमिदान गरेबराबरको पुण्य मिल्ने कुष्माण्ड सरोवर त्रिवेणीधाम विकास समिति अध्यक्ष न्यौपाने बताउनुहुन्छ। परापूर्वकालमा देवता र राक्षसबीच युद्ध हुँदा राक्षस मारिए पनि उसको केशबाट कुभिन्डोको लहरा उत्पत्ति भएको र त्यसैको फलका रूपमा कुभिन्डो फलेको पौराणिक कथन रहेको न्यौपानेले बताउनुभयो। त्यही कुभिन्डोमा सुनको प्रतिमा राखी भगवानलाई अर्पण गर्नाले सारा दुःखकष्ट हटेर जाने धार्मिक विश्वास रही आएको उहाँले सुनाउनुभयो।

प्रतिक्रिया दिनुहोस्